समाचारसोमबार, आषाढ ३, २०७०

बाढीको बबण्डर (फोटो फिचर)

हिमालखबर

दार्चुलाको खलङ्गा । तस्वीर सौजन्यः नेपाली सेना

गृह प्रवक्ता शंकरप्रसाद कोइरालाका अनुसार दार्चुला, कञ्चनपुर, डडेलधुरा, हुम्ला र नवलपरासी जिल्ला बढी प्रभावित भएको छ । बुटवल संवाददाता दीपक ज्ञवालीका अनुसार दाउरा निकाल्न गएका हकिज अन्सारी मुल्लाह(५६)लाई तिनाउ नदीले बगाएको छ । बाढीका कारण तिनाउ किनारका सयौं घरहरु जोखिममा छन् ।
राससका अनुसार दार्चुलाको धार गाविस–५ की सरस्वती रौखोला(३८)को महाकाली नदीमा बगेर मृत्यु भएको छ । घर नजिकै भएर बग्ने महाकाली नदीमा आएको बाढी हेर्न गएकी उनी नदीमा बगेकी थिइन् । रौखोलाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसैबीच महाकाली नदीका दुई भङ्गाला बीचमा फसेका कञ्चनपुरका २३ जनालाई स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको सहयोगमा स्थानीयवासीले गरेका छन् ।

दार्चुलामा सेनाद्वारा उद्धार

राससका अनुसार दार्चुलाको खलङ्गा–४ र ५ मा महाकाली नदीमा आएको बाढीको प्रकोपमा परेकालाई नेपाली सेनाले उद्धार गरेको छ । ३ असार बिहान दार्चुलाको खलङ्गामा तैनाथ सेनाको गुल्मबाट ८१ जनाको टुकडी खटिई उद्धार कार्य जारी राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उद्धार टोलीले सदरमुकामस्थित जोखिममा परेका घरहरुबाट धनमाल तथा सामान सुरक्षित स्थानमा सार्ने कार्य गर्नुका साथै सरकारी कार्यालय तथा अस्पतालबाट बिरामी एवम् औषधि र उपकरण सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ । जिल्लास्थित टुँडिखेल, जिल्ला प्रहरी कार्यालय रहेको स्थान र जिल्ला वन कार्यालयमा समेत कटान भइरहेकाले ती कार्यालयका महत्वपूर्ण सामान तथा कागजातसमेत सुरक्षित स्थानमा सेनाले सारिसकेको छ ।
पहाडी तथा हिमाली जिल्लाको उडान बन्द
यसैबीच लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि ३ जेठमा नेपालगन्ज विमानस्थलबाट यस क्षेत्रका पहाडी र हिमाली जिल्लाको सम्पूर्ण उडान बन्द भएको राससले जनाएको छ । मौसममा सुधार नआएपछि नेपालगन्जबाट हुम्ला, जुम्ला, मुगु, डोल्पा, बाजुरालगायतका जिल्लाको नियमित हवाई उडान बन्द गरिएको हो ।

बुटवल नजिक तिनाउ नदीमा आएको बाढी । तस्वीरः दीपक ज्ञवाली/हिमालखबर

सुदुरपश्चिमको दार्चुला । तस्वीरः देवयानी शिवाकोटी/हिमालखबर

दार्चुलाको खङ्गलामा बाढीले कटानमा परेको भवन । तस्वीर सौजन्यः नेपाली सेना

खलङ्गा, दार्चुला । तस्वीर सौजन्यः नेपाली सेना

खलङ्गा, दार्चुला । तस्वीर सौजन्यः नेपाली सेना

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>