थप समाचारमंगलबार, आषाढ ४, २०७०

पहिरोमा परेर एकै परिवारका पाँचको मृत्यु(विभिन्न ठाउँको क्षतिसहित)

हिमालखबर

अविरल वर्षाका कारण ३ राति घरमाथिबाट पहिरो खस्दा सिद्धेश्वर–९ का रामसिंह ऐरको परिवार पहिरोमा परेको हो । पहिरोमा परी मृत्यु हुनेहरूमा २६ वर्षीया सीता ऐर, निजका एक वर्षीय नाबालक छोरा अर्जुन तथा तीन वर्षीया छोरी विन्देश्वरी, ३४ वर्षीया कलावती र उनका १२ वर्षीय छोरा परमेश्वर रहेको प्रहरीले जनाएको छ । पहिरोमा परेकाहरूको स्थानीय खोड्पे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनबाट गएको टोलीले उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख मनोज शाहीले बताए ।

शाहीका अनुसार पहिरोमा परेको घरबाट चारजनाको लास प्रहरी र स्थानीय बासिन्दाले निकालिसकेका छन् भने १२ वर्षीय परमेश्वरको लास पुरिएकै अवस्थामा रहेको छ ।सातजनाको ऐर परिवारमध्ये करन र उनका बुवा रामसिंह स्थानीय खोड्पे बजारमा व्यापार गरी बस्ने गरेका थिए । उनीहरू दुवै बाबुछोरा राति पसलमै बसेकाले बाँच्न सफल भएको प्रहरीले बताएको छ । पहिरोमा परी १० वटा, बाख्रा, एक राँगो र दुईवटा गाईसमेत पुरिएको प्रहरीले बताएको छ ।

बुटवलका निजी विद्यालय बन्द
लगातार दुई दिनदेखिको वर्षाका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पाखण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै राजमार्ग अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । अवरुद्ध राजमार्ग डोजर लगाएर खुलाउने काम भएको ट्राफिक प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण रूपन्देहीका निजी तथा आवासीय विद्यालय बन्द भएका छन् । वर्षाले विद्यार्थीको आवतजावत र पढाइमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रूपन्देहीले आजबाट चार दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
वर्षे बिदामा समायोजन गर्ने गरी मङ्गलबारदेखि शुक्रबारसम्म मातहतका विद्यालयमा बिदा दिने निर्णय गरिएको प्याब्सन रूपन्देहीका अध्यक्ष कृष्ण खनालले जानकारी दिए । प्याब्सनअन्तर्गत झन्डै २०० विद्यालय बन्द छन् ।

नवलपरासीको आधा दर्जन ठाउँमा कटानमा
तीन दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले गण्डक बाँधको ठोकर नम्बर ११ र १२ मा कटान गरेको हो । बाढीले ठोकर नं १२ मा करिब १२ मिटर भाग कटान गरिसकेको छ । ठोकर भत्के कोसी दोहोरिने भन्दै स्थानीयवासी त्रसित बनेका छन् ।
गण्डक बाँधको ११ र १२ नम्बर ठोकर बाढीले बगाए नवलपरासीका १३ गाविस पूर्णरूपमा डुबानमा पर्नेछ । डुबान र कटान क्षेत्रमा क्षति हुनबाट बचाउन सुरक्षा संयन्त्र क्रियाशील अवस्था राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।
जिल्लाका खहरेखोलाले गर्दा आसपासका बस्तीमा कटान र डुबानमा पारेको छ । गिरुबारी खोलाले प्रसौनी २ र ३ वडामा डुबान हुन थालेपछि सिम्राहा टोलका १२ परिवारलाई छिमेकी आफन्तकोमा बसोवास गराइएको छ ।
खोला बस्ने ठाउँमा सशस्त्र प्रहरी र स्थानीयवासीले बिहानैदेखि बोरामा माटो भर्दै तटबन्धन गर्न लागिपरेका छन् । त्यस्तै बेणिमनिपुरमा बिनयी खोला पस्दा दुईवटा छाप्रा भत्केको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
त्यस्तै अग्यौलीको मुसहर टोलमा नारायणीको भङ्गालो पस्दा १५ घर मुसहर बस्ती डुबानमा परेको स्थानीय गुनबहादुर महतोले बताए । ३ जेठमा डुङ्गासमेत बगाएको थियो । पहिरोका कारण जिल्लाको दलदले बुलिङटार–डेढगाउँ सडकखण्ड अवरुद्ध भएको छ ।

कालीकोटको जनजीवन प्रभावित, दुई बजार जोखिममा
तीनदेखिको लगातारको वर्षाका कारण कर्णाली नदीको आसपासका क्षेत्रको स्थानीय जितेगडा र लालिघाट बजार डुबानमा रहेको छ । बजारमा रहेका पसल डुबानमा पर्नुका साथै पुलसमेत डुबानमा परेका कारण आवतजावतका लागि समस्या भएको स्थानीय व्यापारीले बताएका छन् ।
वर्षाले जिल्लाको एकमात्र जलविद्युत् केन्द्र पोतमारामा मेसिनको टर्वाइनमा बालुवा भरिएको भन्दै विद्युत् बन्द भएको छ भने विद्युत् अभावका कारण जिल्लामा स्थानीय सञ्चार माध्यम बन्द भएका छन् । सदरमुकाममा सरकारी कार्यालयमा काममा कठिनाइ भएको र सेवाग्राहीसमेत घटेको बताइएको छ । विद्युत् नभएपछि जिल्लामा रहेको एकमात्र बैंकिङ सेवासमेत प्रभावित भएको छ ।
जिल्लामा अहिलेसम्मको सबैभन्दा बढी वर्षा भएको स्थानीयले बताएका छन् । उता जिल्लाका स्थानीय कृषक भने समयमा वर्षा भएपछि खेती लगाउन पाइने भयो भन्दै खुसी भएका छन् ।

स्याङ्जामा स्टिमर सेवा बन्द
पश्चिम स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा सञ्चालित जल यातायात स्टिमर सेवा कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ । मिर्मीस्थित अधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी शिलासम्मको सात किलोमिटर जलयात्रा कालीगण्डकी नदीमा पानीको बहाव तीव्र बन्दै गएपछि बन्द गरिएको शिला शालीग्राम कालीगण्डकी जल यातायात व्यवसायी समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताए ।
“कालीगण्डकी नदीमा पानीको बहाव धेरै भएकाले कालीगण्डकी ‘ए’ जलविद्युत् गृहको बाँधका ढोकाहरू सबै खोलिएका छन्” अध्यक्ष रानाले भन्नुभयो, “स्टिमरको सुरक्षाका लागि सेवा नै बन्द गरिएको हो ।”बन्द भएको जल यातायात सेवा हिउँद लागेपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अध्यक्ष रानाले बताउनुभयो । स्टिमर बन्द भएपछि स्याङ्जा, पर्वत, बागलुङ र गुल्मीका दुई दर्जनभन्दा बढी गाविसका स्थानीय बासिन्दा प्रभावित भएका छन् ।
कालीगण्डकीको मिर्मीदेखि सेतीवेणीसम्मका लागि सानाठूला गरी १० वटा स्टिमर सञ्चालनमा आएका थिए ।

मालढुङ्गा–बेनी सडक अवरुद्ध
चारदिनदेखि लगातार परेको वर्षाका कारण सडकखण्डमा पर्ने खोलामा बाढी आएर सडक पुर्दा पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत पाङ गाविसस्थित डमुवाखोलामा आएको बाढीका कारण सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध हँुदा म्याग्दीबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन खनियाँघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट म्याग्दीका लागि आएका सवारीका साधन मालढुङ्गामा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सिमिकोटमा एघार घरमा क्षति
अविरल वर्षाका कारण हुम्लाको सदरमुकाम सिमिकोटको सेम्ने गाउँका ११ घरमा क्षति पु¥याउनका साथै जग्गासमेत बगाएको छ । सेम्ने गाउँका होटल डुबानमा परेका छन् भने एउटा झोलुङ्गे पुल पनि बगाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>