समाचारमंगलबार, आषाढ ४, २०७०

राष्ट्रपति यादव अस्पताल भर्ना

रासस

राष्ट्रपति यादवलाई ४ असारमा टोकियोको नारिता विमानस्थलमा अवतरण गर्ने बित्तिकै त्यहाँको शिक्षण अस्पतालमा भर्ना गरिएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । अस्पतालका उपनिर्देशक तथा प्राध्यापक तोसिकाइ वातानावे नेतृत्वको विशेषज्ञ टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्नेछ ।

उक्त टोलीले राष्ट्रपतिसँगको भेटपछि भोलिदेखि औपचारिक परीक्षण गर्ने जनाइएको छ । अनुसन्धान तथा नवप्रवर्तनका निम्ति विश्वप्रसिद्ध उक्त अस्पतालले सन् १९९८ देखि चिकित्सा सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यसअघि विमानस्थलमा जापानमा रहेका नेपाली समुदायसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति यादवले आफ्नो स्वास्थ्य प्रतिकूल नरहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । विदेशमा स्वास्थ्य परामर्श लिन र परीक्षण गराउन नेपालका चिकित्सकहरूले दिएको परामर्शबमोजिम आफू यहाँ आएको उनले उल्लेख गरे ।
नेपाल–जापान सम्बन्ध अत्यन्त सुमधुर रहेको र त्यो परस्पर सहयोगी रहेको चर्चा गर्दै राष्ट्रपति यादवले जापानमा रहेर नेपालीले हासिल गरेको उपलब्धिको प्रशंसा गरे । दूतावासका अनुसार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन तथा जनता–जनताबीचको सम्पर्क विस्तार, लगानी र प्रविधि हस्तान्तरणमा सक्रिय भएर लाग्न राष्ट्रपतिले अनुरोध गरेका थिए ।

स्थानीय समयअनुसार बिहान ०६:२० बजे ब्याङ्ककबाट नारिता विमानस्थलमा अवतरण गरेका राष्ट्रपतिलाई जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई, जापानी दूतावासका वरिष्ठ अधिकारी, नेपाली समुदाय, जापानस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्गठन, जापान शाखाका अध्यक्षलगायतले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>