थप समाचारबिहीबार, आषाढ ६, २०७०
वातावरण संरक्षण शिक्षामा नयाँ आयाम

पुस्तकमा वातावरण : चितवन र रसुवाको स्थानीय पाठ्यक्रमकालागी बन्यजन्तु संरक्षण संघको नेपाल प्रकृति पाठशालाले प्रकाशन गरेको पुस्तकको ५ असारमा राजधानीमा विमोचन गर्दै शिक्षा विभागका महानिर्देशक महाश्रम शर्मा। तस्बीर:अनुशील/हिमालखबर
वन्यजन्तु संरक्षण संघ नेपाल (डब्ल्युसीएन) नेपाल प्रकृति पाठशाला (एनपीपी)ले वातावरण संरक्षण शिक्षामा काम गर्न थालेको एकदशक पुरा गरेसँगै ५ असारमा राजधानीमा वातावरणिय संरक्षणबारेको पाठ्य पुस्तक प्रकाशन गरेको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले श्री श्यामेवाङफेल उच्च मा. वि. स्रोतकेन्द्र स्याप्रूmवेंसी, रसुवा, झुवानी स्रोतकेन्द्र चितवन र नेपाल प्रकृति पाठशालाको संयुक्त पहलमा निमार्ण भएको स्थानीय पाठ्यक्रम लाङटाङको सेरोफेरो २०६९ मा आधारित र स्थानीय पाठ्यक्रम वातावरण संरक्षण शिक्षाबारे कक्षा ४ र ५ को पाठ्यपुस्तक बिमोचन गरेका थिए ।
उक्त स्थानीय पाठ्यक्रमहरु रसुवा जिल्लाको उत्तरी भेगका चार वटा गा. वि. स. (लाङटाङ, टिमुरे, बृद्धिम र स्याफ्रु) का १२ वटा विद्यालयहरुमा र चितवनको झुवानी स्रोतकेन्द्र अन्तर्गतका ३४ वटा विद्यालयहरुमा नमुना कार्यक्रमको रुपमा शैक्षिक सत्र २०६९ बाट पठनपाठन भईरहेको छ । कार्यक्रममा वन्यजन्तु संरक्षण संघ नेपालले वातावरण संरक्षण शिक्षामा गरेका कामहरुको बारेमा एउटा श्रब्यदृष्य सामाग्री समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले नेपाल प्रकृति पाठशाला–वन्यजन्तु संरक्षण संघ नेपालले वातावरण शिक्षामा पुरयाएको योगदानको प्रशंसा र कार्यक्रम निरन्तरताको शुभकामना व्यक्त गरेका थिए । शिक्षा विभागका भूतपूर्व उपनिर्देशक श्रीमती राज्यलक्ष्मी नकर्मीले बाल विकाश शिक्षामा स्थानीय पाठ्यक्रमको महत्वबारे बोलेका थिए । त्यस्तै वन्यजन्तु संरक्षण संघ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रसन्न योञ्जन, जिल्ला शिक्षा अधिकारी रसुवा र जिल्ला शिक्षा अधिकारी चितवन लगायतका वक्ताहरुले वातावरणिय शिक्षाबारे बोलेका थिए ।
वन्यजन्तु संरक्षण संघ नेपालका कार्यक्रम व्यवस्थापक संजिवनी योञ्जन श्रेष्ठका अनुसार स्थानीय वातावरण संरक्षणको लागी यो स्थानीय पाठ्यक्रमको निर्माण गरी लागू समेत गर्ने कार्य देशमै एक नमुना कार्यक्रमको रुपमा रहेको छ । यस नमुना कार्यको देशका सम्पूर्ण विद्यालयहरुले अनुशरण गर्नेछन् भन्ने वन्यजन्तु संरक्षण संघ नेपालले विश्वास लिएको छ ।
