समाचारबिहीबार, आषाढ ६, २०७०
दार्चुलाका बिरामी बिचल्लीमा
कार्यालय बगेपछि सडकमै बिरामीलाई राखेर प्राथमिक उपचारसम्मको सेवा प्रदान गर्ने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक वीरबहादुर थापाले बताए । जिल्लाको विकट क्षेत्रबाट उपचारका लागि पुगेका बिरामीहरुले तीन दिनदेखि खान नपाउँदा अप्ठेरोमा परेको जानकारी दिए । छ दिनअघि उपचारका लागि अस्पतालमा भर्ना भएका भगवती– ४ का जगतसिंह खत्रीले भारतको बाटोसमेत अबरुद्ध छ, यहाँ उपचार छैन भन्दै उपचार नपाएर पीडा खेप्दै बस्नुपरेको बताए ।
राहत वितरण शुरु
दार्चुलाका बाढीपीडित परिवारलाई आजदेखि राहत वितरण गर्न शुरु गरिएको छ । बाढी प्रभावितहरुका लागि बुधबार हेलिकप्टरमार्फत राहत सामग्री आइपुगेपछि ६ असारदेखि वितरण थालिएको हो ।
कैलालीबाट मगाइएको राहत सामग्री आज रेडक्रसमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताए । बाढीबाट पूर्णरुपमा विस्थापित भएका १२८ परिवारका एक हजारभन्दा बढी व्यक्तिलाई राहत सामग्री वितरण हुन लागेको हो ।
पीडित परिवारका लागि २२ क्विन्टल चामल, ६ क्विन्टल दाल, १०० लिटर खाने तेल, २०० थान त्रिपाल, ४०० थान कम्बल, पानी शुद्धीकरण गर्न पियुस र औषधिलागायतका सामग्री वितरण गर्न लागिएको उनले जानकारी दिए ।रासस
