थप समाचारशुक्रबार, आषाढ ७, २०७०
व्याभीचारी शिक्षकलाई एघार वर्ष कैद
साँगाचोक गाविसस्थित जनजागृति माविका शिक्षक नारायण श्रेष्ठले आफ्नै छात्रहरुलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको एकल इजलासले यस्तो फैसला गरेको हो । आफैंले पढाउँदै आएका छात्रहरुलाई ट्युसन पढाउने क्रममा बढी नम्बर दिने प्रलोभन देखाइ नौदेखि ११ वर्ष उमेरका ६ जनालाई अप्राकृतिक मैथुन गरेको अभियोग श्रेष्ठमाथि लगाइए पनि तीन जनाले मात्र प्रहरीमा जाहेरी दिएका थिए ।
श्रेष्ठले विसं २०६७ चैतदेखि छात्रमाथि अप्राकृतिक सम्बन्ध राख्दै आएपनि आठ महिनापछि मात्र पीडित छात्रबाट घटना सार्वजनिक भएको थियो । गाउँ बाल संरक्षण समिति र पारालिगल समितिको सहयोगमा २४ कात्तिक २०६८ मा तीन जना बालकको जाहेरीमा श्रेष्ठलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो ।
नाबालकलाई जबर्जस्ती अप्राकृतिक सम्बन्ध राखेको ठहर गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको दफा ३ अनुसारको सजाय तोकेको अदालतले जानकारी दिएको छ । ऐनमा १० वर्षमाथिका बालबालिकालाई जबर्जस्ती करणी गर्नेलाई १० वर्षसम्म कैद र अप्राकृतिक करणी गरेमा थप एक वर्ष सजाय हुने प्रावधान रहेकाले ११ वर्ष कैद तथा पीडकबाट पीडितलाई जनही ५० हजारका दरले क्षतिपूर्ति दिने फैसला भएको श्रेस्तेदार दशरथ पङ्गेनीले जानकारी दिए ।रासस

