समाचारआइतबार, आषाढ ९, २०७०

समानुपातिक प्रतिशत बढाउन माग

हिमालखबर

एमाओवादी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा ९ असारमा बसेको बैठकले संविधानसभालाई समावेशी बनाउन समानुपातिक तर्फको सिट बढाउनुपर्ने र त्यसका लागि ऐन संशोधन गर्नुपर्ने ठहर गरेको हो । गठबन्धनको बैठकले प्रत्यक्षतर्फको सिट सङ्ख्या ४२ प्रतिशत र समानुपातिकतर्फ ५८ प्रतिशत हुनुपर्ने पहिलेको अडान दोहो¥याउँदै त्यसका लागि ऐन सशोधन गर्नुपर्ने विषयमा छलफल भएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।

प्रवक्ता सिंहले त्यसका लागि राजनीतिक सहमति पूर्वसर्त भएको र सहमति भए ऐन सशोधन गर्न कुनै समस्या नहुने बताए । सरकारले केही दिन पहिले जारी गरेको ऐनमा प्रत्यक्ष र समानुपातिक ५०–५० प्रतिशत हुने व्यवस्था गरेको छ ।

त्यस्तै बैठकले आगामी ४ मङ्सिरका लागि तोकिएको संविधानसभाको निर्वाचन सफल पार्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । गठबन्धनको बैठकले सरकारले चुनावको मिति तोकेकोमा स्वागत गर्दै चुनाव सफल पार्न सबै राजनीतिक दलसँग आह्वान गरेको प्रवक्ता सिंहले जानकारी दिए । बैठकले नेकपा–माओवादीका मागका विषयमा छलफल गरेर सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै बाहुन क्षत्री, दशनामी सन्यासी, ठुकरीलगायतलाई खस आर्यको रूपमा परिभाषित गरेकामा गठबन्धनले स्वागत गरेको छ । गठबन्धनले बाढीपहिरो पीडितका लागि राहत र पुनःस्थापनाको काममा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।

बैठकले बाढीपीडितलाई राहत दिन र पुनःस्थापनाको काम युद्धस्तरमा अगाडि बढाउनसमेत सरकारसँग आग्रह गरेको छ । तीर्थयात्राका लागि भारत गएका नेपाली नागरिक भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा अलपत्र परेको भन्दै उनीहरूको तत्काल उद्धारका लागि भारत सरकारसँग कूटनीतिक पहल गर्नसमेत बैठकले आग्रह गरेको छ ।

गठबन्धनको बैठकमा पछिल्लो राजनीतिक अवस्था र संविधानसभाको निर्वाचनको तयारीका सम्बन्धमा भइरहेको काम तथा कारबाहीको विषयमा गठबन्धनका संयोजक एवम् अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएको प्रवक्ता सिंहले उल्लेख गरे । गठबन्धनको सचिवालयको बैठक बसेर निर्वाचनसम्बन्धी कार्ययोजना तयार पारिने सहमति भएको प्रवक्ता सिंहले बताए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>