समाचारमंगलबार, आषाढ ११, २०७०
पैसा मागेको आरोपमा पत्रकारमाथि कुटपिट
व्यापारीलाई धम्काएर रकम मागेको आरोप लगाउँदै ११ असारमा वीरगञ्जबाट प्रकाशित हुने ‘हाम्रो आफनै दैनिक’ पत्रिकाका प्रकाशक अमित अग्रवाललाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको स्थानीय व्यापारीहरुले बताएका छन् ।
वीरगन्जको बाइपास लिंकरोडमा रहेको जगदम्बा अटो प्लाजामा पुगेका अग्रवाल सहितका तीन जना पत्रकारहरुले पसलमा अवैध सामान भण्डारण गरेर राखेको भन्दै पसलका सञ्चालक सञ्जय अग्रवाललाई धम्क्याएपछि अमित अग्रवाललाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको अटो प्लाजाका सञ्चालक सञ्जय र केदार अग्रवालको दाबी छ । त्यसबेला आक्रोशित केही ब्यापारीद्वारा अमित अग्रवालमाथि हातपात भएको केदार अग्रवालले बताए ।
घटनास्थलबाट अमित अग्रवाललाई पक्राउ गरिएको भए पनि रकम माग गरेको पुष्टि नभएपछि अन्य पत्रकारहरु र ब्यापारीहरुको रोहबरमा दुबै पक्षले आ–आफ्नो आचारसंहिताको पालना गर्ने भन्ने सहमति गरेपछि अमित अग्रवाललाई छोडिएको पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बताएका छन् ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार पत्रकारहरुले सञ्चालकको स्वीकृति नलिई गोदामको फोटो खिच्न थालेपछि विवाद भएको बताएका छन् ।
पसलका सञ्चालकमध्येका केदार अग्रवालका अनुसार अर्का एकजना पत्रकारले आफूलाई रमेश सुवेदी बताए पनि उनी रमेश सुवेदी नभएको पछि पुष्टि भएको छ ।
यता अमित अग्रवाल लगायतका पत्रकारहरुले भने आफूहरु कर छली सम्बन्धी घटनाको फलोअप गर्ने क्रममा पसलमा पुगेको बेला पसलका सञ्चालक लगायतका ब्यापारीहरुले अनावश्यक आरोप लगाउँदै आफूमाथि हातपात गरेको र पछि प्रहरीले बचाएको बताएका छन् ।
यसअघि प्रकाशित समाचारमा असावधानीबस उक्त घटनामा संलग्न नरहेका पत्रकारद्वय अमित साह र रमेश सुवेदीको नाम पर्न गएकोमा हिमालखबर क्षमा याचना गर्दछ ।
