समाचारबुधबार, आषाढ १२, २०७०
कराँचीमा बम विस्फोट, आठको मृत्यु
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको उच्च अदालतका न्यायाधीश मकबुल बकिरलाई लक्ष्यगरी बम आक्रमण गरिएको र आक्रमणबाट न्यायाधीश बकिर गम्भीर घाइते भएको प्रहरी अधिकारी सलमान सयेदले पुष्टि गरेका छन् । तर उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।
बम आक्रमणमा गाडीका चालक, सुरक्षा गार्ड, प्रहरी र रेञ्जर अफिसर गरी आठ जनाको मृत्यु भएको सूचना मन्त्री सजैल मेमोनले समाचारदाताहरूलाई बताएका छन् ।
त्यसैगरी आक्रमणबाट अन्य १५ व्यक्ति घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणमा प्रयोग गरिएको बम मोटरसाइकलमा जडान गरिएको र दुर नियन्त्रित यन्त्रद्वारा विस्फोट गराइएको सयेदले एएफपीलाई बताएका छन् । विष्फोटबाट तीन वटा प्रहरी भ्यान र दुई वटा मोटर साइकल समेत क्षतिग्रस्त भएको बताइएको छ ।
एक करोड ८० लाख जनसङ्ख्या भएको यस सहरबाट देशको कुल ग्राहस्थ्य उत्पादनमा ४२ प्रतिशत योगदान रहेको बताइन्छ । पाकिस्तानमा जारी रहने प्रायः राजनीतिक, जातीयलगायतका हिंसा यस सहरमा धेरै मात्रामा हुने गर्दछन् ।
कराँची सहरमा गतवर्ष जातीय र राजनीतिक तनावसँग सम्बन्धित हिंसामा करिब दुई हजार व्यक्तिले ज्यान गुमाएका समाचारमा उल्लेख छ ।
एजेन्सी

