समाचारबुधबार, आषाढ १२, २०७०
‘सयौँ मरेका थिए, हामी लासमा टेक्दै आयौँ’
हतास देखिने उनीहरु भारतको बद्रीनाथ, केदारनाथको बाढीबाट बचेर आएका थिए । अहिले पनि आतङ्कित देखिने ती युवा भारतको केदारनाथमा आएको बाढीबाट बचेर आएका कालीकोटका सुरेन्द्र शाही, मानबहादुर शाही, गोगनबहादुर शाही, दोर्जे रोकाय, नन्दाराम शाही, वीरबहादुर शाही र रामबहादुर बिष्ट हुन् ।
उनीहरु सबैको सुर्खेत आएपछि मात्रै भेट भएको हो । केदारनाथमा आएको बाढीबाट बचेर उनीहरु सात दिनपछि आ–आफ्नै ढङ्गले सुर्खेत आइपुगेका हुन् ।
शरीरमा रहेका एकजोर कपडाबाहेक केही पनि नभएका उनीहरुले आफूहरुलाई बाँच्छौ भन्ने विश्वास नभएको बताए । आफ्नै आँखा अगाडि सयौँ मान्छे मरिरहेको देखेका उनीहरुले आफूसँगै गएका साथीभाइ र आफ्नै गाउँलेलाई पनि उतै गुमाएर आएका हुन् ।
“हामीलाई बाँच्ने आशा थिएन,” कालीकोट मान्मा–८ ताडीका सुरेन्द्र शाहीले भने, “सयौँ मान्छेहरु उर्लिएको भेलमा बगिरहेका थिए, बगरिहेका तिनै लासहरु नाघ्दै आयौँ ।”
उनले थपे, “मृत नेपालीका हातमा भएका औँठीसमेत चोरहरुले लगे ।” शाहीले आफूहरु जस्तै सयौँ नेपालीले उद्धारको लागि अनुरोध गर्दा भारतीय प्रहरीले नेपालीलाई पछाडि फाल्दै भारतीयलाई मात्रै हेलिकोप्टरमा हालेको दुःखेसो पोखे ।
अर्का पीडित गोगन शाहीले आफूहरुसँगै रहेका ४०/५० जना नेपालीको लासमाथि टेक्दै आएको भन्दै धेरै नेपालीले उद्धार नपाउँदा ज्यान गुमाउनु परेको बताए ।
‘‘हामी काम गर्नका लागि त्यहाँ बैशाख १८ गते पुगेका थियौँ । असार २ गते बिहान ठूलो पानी परिरहेको थियो । म बिरामी भएकाले कोठामै सुतिरहेको थिएँ । अरु साथीहरु सबै काममा जान शुरु गरेका थिए । अरु सबै जङ्गलतिर भागेछन् । म आफू भएको घरबाट सकिनसकि अर्को घरमा हामफालेँ । एकै छिनमा सारा मान्छे बगे । बजार सबै बग्यो । मैले हेर्दाहेर्दै १२ जना नेपालीलाई एकैचोटी बाढीले लग्यो,’’ शाहीले भने ।
केदारनाथको एउटा मन्दिर र दुईवटा होटलबाहेक सबै बाढीले बगाएको र त्यही मन्दिर र होटलमा भएका मान्छे मात्रै बाँचेको उनले जानकारी दिए ।
सुर्खेत आइपुगेका उनीहरुले आफूहरुसँग भएको एक/दुई सय रुपैयाँ, मोबाइल, कपडा पनि त्यहाँका स्थानीय र प्रहरीले लुटेको गुनासो गरे । घर फर्कने क्रममा पैसा नहुँदा खानासमेत नखाएको उनीहरुको भनाइ छ ।
“लुट्नेहरु कति त नेपाली नै थिए,” कालीकोटकै नन्दराम शाहीले भने, “कति नेपाली उद्धार नपाएर मरे, बाँचेकालाई त्यहाँका गुण्डाहरुले मारे, धन्न हामी बाँचेर आयौँ ।” उनले बाटोमा त्यहाँका गुण्डाहरुले नेपालीलाई कुटेर रगताम्य बनाएको देखेपछि आफूहरु भागेर बाँचेको पनि बताए ।
सुर्खेत आइपुगेका उनीहरु पनि सामान्य घाइते भएका छन् । उनीहरु भाग्ने क्रममा घाइते भएका हुन् । असार ३ गते त्यहाँबाट हिँडेका उनीहरु पहिलो दिन सोनप्रयाग, दोस्रो दिन फाटा, तेस्रो दिन कर्णप्रयाग, चौँथोदिन हलदवानी, पाँचौ दिन महेन्द्रनगर हुँदै सातौ दिनमा सुर्खेत आइपुगेका हुन् ।
कोही महेन्द्रनगरबाट कोहलपुर भएर आएका हुन् भने कोही महेन्द्रनगरबाट एकै दिनमा सुर्खेत आइपुगेका हुन् ।
त्यहाँ तीर्थयात्रीलाई बोकेर मन्दिरसम्म पुर्याउने काम गर्ने धेरै नेपालीको मृत्यु भएको उनीहरुको भनाइ छ । अहिले त्यहाँ रहेका कतिपय नेपाली घर आइपुगे पनि अझ कतिपय बेपत्ता छन् ।
सुर्खेत आइपुगेका उनीहरुसँग घर जाने भाडासमेत नभएपछि सुर्खेतमा रहेका आफन्तको घरमा बस्न बाध्य भएका छन् ।
रासस
