समाचारबिहीबार, आषाढ १३, २०७०
अमेरिका जान लागेका कोइरालालाई भारतीय राजदूतले भेटे
कांग्रेस सभापति सुशील कोइराला उपचारका लागि अमेरिका जाने दिन भेटेका भारतीय राजदूत जयन्त प्रसादले नेपालको पछिल्लो राजनीतिक अवस्था र मंसीरको लागि निर्धारण गरिएको संविधानसभाको निर्वाचनबारेमा कुराकानी गरेका छन् ।
राजदूत जयन्तप्रसादले निर्वाचनको लागि दलहरुबीच भइरहेको प्रयास एवम् राजनीतिक निकासको बारेमा चासो राखेको बुझिएको छ । सो अवसरमा सभापति कोइरालाले दलहरुबीच भएको सहमतिअनुरुप निर्वाचन हुने जानकारी दिँदै अब निर्वाचनलाई जसरी भए पनि सम्पन्न गर्न आफूहरु कटिबद्ध भएर लागेको बताएका थिए ।
साथै आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइहरेकोलगायत निर्वाचननै मुलुकको राजनीतिक सङ्कटको निकास भएकाले यसलाई सफल बनाउनुपर्ने धारणा सभापति कोइरालाले राखेको उनका स्वकीय सचिव लक्ष्मण ढकालले बताए ।
राजदूत जयन्तप्रसादले स्वास्थ्य परीक्षणका लागि आजै अमेरिका जान लागेका सभापति कोइरालाको स्वास्थ्यलाभको समेत कामना गरेको ढकालले जानकारी दिए ।
