थप समाचारशुक्रबार, आषाढ १४, २०७०
हाँसेको आरोपमा पाकिस्तानमा तीन महिलाको हत्या
प्रहरीका अनुसार मृतकहरुमा एक महिला र उनका दुई छोरीहरु छन् जसलाई महिलाका सौतेनी छोराले मारेका हुन् । यो घटनालाई कथित रुपमा ‘अनर किलिंग’को मामिला मानिएको छ ।
अंग्रेजी शब्द ‘ अनर किलिंग’ को अर्थ कुनै व्यक्तिलाई उसकै परिवार वा समाजका व्यक्तिद्वारा उक्त परिवार वा समाजको मानहानी हुने कार्य गरेको आरोपमा गरिने हत्या भन्ने बुझिन्छ । खासगरी ‘अनर किलिंग’ लैंगिक विभेदमा आधारित अपराध हो । अनर किलिंगलाई पाकिस्तानको स्थानीय भाषामा कारोकारी (सिन्धी भाषा) भनिन्छ ।
गिलगिट बाल्टिस्तान इलाकाका यि महिलाहरु हाँसेको भिडियो रेकर्ड त्यसक्षेत्रमा प्रसारण भएपछि उनीहरुको हत्या भएको हो ।
मानवअधिकार कार्यकर्ताहरुका अनुसार उक्त भिडियोमा महिलाका दुवै छोरीहरु परिवारका अन्य सदस्यहरुका साथ हांसिरहेको दृष्य छ । यिनीहरुमध्ये एकजनाको उमेर १७ वर्ष थियो ।
छिमेकीहरुका अनुसार महिलाका सौतेनी छोरीले यो भिडियोबाट आफ्नो परिवारको सम्मानमा आघात पुगेको ठानेका थिए ।
बीबीसीका अनुसार उक्त भिडियो फुटेजमा पानी परिरहेका बेला महिलाहरु आफ्नो घर बाहिर अन्य महिलाहरुसँगै हाँस्दै गरेको दृष्य छ । त्यसमा भएको अडियो रिकर्डिङमा एक जना महिलाले कसैलाई उपहारका लागि धन्यवाद भनेको आवाज पनि सुनिन्छ ।
पाकिस्तानको उत्तरी इलाकामा ‘अनर किलिंग’ का खबरहरु आइरहन्छन् । यस्ता घटनाहरु विशेष गरी महिलाहरु परिवार बाहिरका पुरुषसँग बोलेको वा सँगै हिंडेको देखिएपछि हुने गरेको छ ।
यसै इलाकामा पोहोर पाँच महिला र दुई पुरुषहरुको हत्या भएको थियो । उनीहरु सबै एउटा विवाह उत्सवमा सँगै नाच्दै गरेका देखिएका थिए ।
पाकिस्तानको उच्च न्यायालयले उक्त इलाकामा छानबिनको लागि टोली पठाउँदा स्थानीयले त्यहाँ कसैको पनि हत्या नभएको बताएर पञ्छिएका थिए ।
मानवअधिकारकर्मीहरुका अनुसार पाकिस्तानमा गत वर्ष ९०० महिलाहरुको अनर किलिंगको मामिलामा हत्या भएको थियो ।
उनीहरुका अनुसार कानूनमा पर्याप्त सुधार भए पनि अपराधीहरुले कमैमात्र सजाय पाउँछन् ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा प्रति वर्ष करिब ५ हजार ‘अनर किलिंग’ का घटना हुने गरेका छन् तर, मध्यपूर्व र दक्षिणपश्चिम एशियाका महिला अधिकारवादीहरु विश्वमा प्रतिवर्ष २० हजार ‘अनर किलिंग’ का घटना हुने गरेको बताउँछन् ।
एजेन्सी
