समाचारशनिबार, आषाढ १५, २०७०
बाबुराम भट्टराईद्वरा पद त्यागको घोषणा
पार्टी कार्यालय पेरिसडाँडामा १५ असारमा जारी केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी चयनको विषयमा नेताहरुबीच विवाद उत्पन्न भएपछि एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीमा पदका लागि धेरै नेताहरु प्रत्यासी भएकाले उपाध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् ।
बैठकमा लिखित धारणा राख्दै उपाध्यक्ष भट्टराईले कम्युनिष्ट पार्टीमा पद भन्दा पनि कार्यविभाजन महत्वपूर्ण भएकाले नेतृत्व तहबाटै सुधारको शुरुवात गर्न पद त्यागको घोषणा गरेको नेताहरुले बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग
कुरा गर्दै केन्द्रीय सदस्य खिमलाल देवकोटाले बैठकमा केन्द्रीय कमिटी बिस्तारका क्रममा काममा भन्दा पनि पदका लागि नेताहरु आकांक्षी भएकाले सिङगो पार्टीलाई शुद्धिकरण गर्न भट्टराईले पद त्यागको घोषणा गरेको जानकारी दिए ।
पार्टी प्रवक्ता अग्नी सापकोटाले सबैले त्याग गरेर पार्टी जोगाउने प्रस्ताव गरेको बताए । उनले उपाध्यक्ष भट्टराईले केन्द्रीय कमिटीमा आफू पनि पदको लोभी नभएकाले आवश्यक परे सबैले पद त्याग गरेर पार्टी जोगाउन तयार हुनुपर्ने बताएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक जारी रहेका बेला उपाध्यक्षले पद त्यागको घोषणा गरेपछि बैठक १६ असारसम्मका लागि स्थगित भएको छ ।
