समाचारमंगलबार, आषाढ १८, २०७०
नेपालीको मृत्युबारे आधिकारीक खबर आएको छैन: परराष्ट्र
अफगानिस्तानको काबुलस्थित नेटो सैन्यलाई बन्दोबस्तीका सामान उपलब्ध गराउने कम्पनीको कार्यालयमा भएको विष्फोटमा नेपालीको हताहतीका सम्बन्धमा पाकिस्तानस्थित नेपाली राजदूतसँग सम्पर्क गरेको र त्यहाँबाट नेपालीको मृत्यु भएको खबर प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापालाई उद्धृत गर्दै राससले जनाएको छ ।
“अफगानिस्तानसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूतले घटनाको खबर पाउनेवित्तिकै काबुलमा सम्बद्ध अधिकारीसँग सम्पर्क गरी नेपालीबारे जानकारी लिएको तर त्यहाँ नेपालीको मृत्यु भएको खबर नआएको” प्रवक्ता थापाले भनेका छन् ।
पाकिस्तानस्थित नेपाली दूतावासले काबुलमा निरन्तर सम्पर्क गरिरहेको र त्यहाँबाट वास्तविक सूचना प्राप्त नभएसम्म यसै भन्न सकिने अवस्थामा मन्त्रालय नरहेको उनले स्पष्ट पारे ।
सरकारले औपचारिक पुष्टी नभएको बताए पनि तालिवानले आज बिहान नेटो सैन्यलाई सामान उपलब्ध गराउने कम्पनीमा आत्मघाती आक्रमण गर्दा चारजना नेपाली सुरक्षागार्डसहित १० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अफगानिस्तानका सरकारी प्रवक्ता र काबुल प्रहरी प्रमुखलाई उद्धृत गर्दै जनाएका छन् ।
