थप समाचारबुधबार, आषाढ १९, २०७०
केदारनाथबाट एक्लै

केदारनाथमा तीर्थालुको डोली बोक्ने गरेका सल्यानका केशव बिक २७, मीनबहादुर बिक २०, हरिबहादुर नेपाली १९, कमल बिक २७, मोहन बिक २३, टेकबहादुर बिक २० र कालीबहादुर बिक ३४ (बायाँबाट)। तस्वीरः तुफान न्यौपाने
गाउँमै १२ कक्षामा अध्ययनरत दार्माकोट―५ सल्यानका मीनबहादुर बिक (२०) विदाको समयमा केही पैसा कमाउन काका कालीबहादुर (४०) को साथ लागेर ३ जेठमा भारतको केदारनाथतिर गएका थिए।
२ असारमा उनी गौरीकुण्डबाट तीर्थालुलाई डोलीमा १४ किलोमिटर टाढाको केदारनाथ पुर्याएर सात किलोमिटर तलको रामबारा झरे।
अगाडि पहिरो गएकाले प्रहरीले त्यहीं रोकिराखेका बेला अचानक लालाहरू ‘भाग–भाग’ भन्दै कराए।
१२ असारमा नेपालगञ्जमा भेटिएका मीनबहादुरले भने, “हामी उकालो भागेको एकैछिनमा उर्लिएको मन्दाकिनी नदीले रामबाराको निशानसम्म छाडेन।” त्यहाँबाट गौरीकुण्ड हुँदै सोनाप्रयागसम्म सँगै रहेका काका कालीबहादुर त्यहाँ ढलेको रूखको साँघु तर्दा नदीमा खसेर निमेषभरमै भेलमा हराए।
त्यहाँबाट ३० किलोमिटर हिंडेर रुद्रप्रयाग आउँदा मीनबहादुरको पनि खुट्टामा गहिरो चोट लाग्यो। भारत सरकारले गरेको निःशुल्क व्यवस्था अनुसार त्यहाँबाट उनी श्रीनगर, हरिद्वारहुँदै नेपालगञ्ज पुगे।
काकाको नाममा बाटैमा कपाल खौरिएका उनले श्रीनगरबाट फोनमार्फत घरमा घटनाको जानकारी गराए। “आँखै अगाडि काका गुमाएँ, त्यतिका मान्छे मरेको हेर्दै बाँचेर आएँ”, बाँके जिल्ला प्रशासनबाट रु.१२०० खर्च पाएका मीनबहादुर भन्छन्, “जिन्दगीभरिलाई पुग्यो, अब कहिल्यै त्यता जान्न।”
भाइ गंगारामलाई लिएर केदारनाथ गएका मीनबहादुरका गाउँले टेकबहादुर बिक (२०) पनि एक्लै फर्किएका छन्। रामबारामा भागेर जोगिएको दुई दिनसम्म दाजुभाइ सँगै थिए। लेक लागेर अर्का साथी प्रतापको मृत्यु भएपछि शवलाई प्लास्टिकमा बेरेर ओडारमा राख्न गएको भाइ फर्किएनन्।
“दर्के पानीमा तीन दिनसम्म खोज्दा पनि नभेटेपछि छोडेर हिंड्नु पर्यो”, टेकबहादुर भन्छन्, “कक्षा ९ को अन्तिम परीक्षाको फारम भर्न खिचेको भाइको फोटो मात्र रह्यो, मसँग।” बुबा, आमा, दिदी र बहिनीलाई अब के भनेर जवाफ दिने? एक्लै फर्किएका उनी संकटमा छन्।
उनलाई भाइ पछाडि–पछाडि आउँदैछ कि जस्तो लाग्छ र घरी–घरी फर्केर टाढासम्म हेर्छन् पनि। सल्यानकै हिमालय क्याम्पसमा स्नातक पहिलो वर्षका विद्यार्थी टेकबहादुर भन्छन्, “भाइ कक्षा १० मा थियो।”
छोरा पूर्णबहादुर र भतिज केशवका साथ केदारनाथ पुगेका दार्माकोट―४ का तेजे कामी पनि भतिजलाई मात्र लिएर फर्केका छन्। रामबाराबाट भाग्ने क्रममा पूर्णबहादुर हराएर तीन दिनसम्म खोज्दा पनि नभेटिएपछि काका र आफू मात्रै फर्किएको केशव (२७) ले बताए।
“लेक लागेर मरेका थुप्रै तीर्थालु र डोलेहरूको लास नाघ्दै हिंड्यौं, शत्रुलाई पनि यस्तो विपत्ति नपरोस्।” मजदूरी गर्न सालैपिच्छे नैनीताल, कालापहाड र चारधाम जाने मध्यपश्चिम पहाडका युवकहरू मालसामानदेखि मानिससम्म बोकेर दुई चार सय कमाएर फर्कन्छन्।
तर, यो वर्ष कमाइ हैन, प्राकृतिक विपत्तिको कहर सहनुपर्यो। ८–१४ असारमा बाढी प्रभावित केदारनाथबाट फर्किएका १२९५ मध्ये ८ जना मात्र भक्तपुरका तीर्थालु थिए, बाँकी सबै मध्यपश्चिमका मजदूर।
तुफान न्यौपाने, नेपालगञ्ज
१६ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

