समाचारबुधबार, आषाढ १९, २०७०
सरकारी साक्षीलाई भत्ता वितरण शुरु
जिल्ला सरकारी वकिल कार्यालय धादिङमा सरकारी साक्षीको रुपमा रहेका चार जनालाई भत्ता दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालयको सिफारिसमा बसेरी–५ का गोपालबहादुर ढकाल, डम्बरबहादुर ढकाल, चन्द्रकिशोर न्यौपाने र दुर्गाबहादुर ढकाललाई जिल्ला प्रहरी कार्यालयले दैनिक भत्ता र बसभाडा उपलब्ध गराएको हो ।
सरकारी मुद्दासम्बन्धी नियमावली २०५५ को नियम १५÷३ बमोजिम उनीहरुलाई पहिलोपटक भत्ता र बस भाडा दिइएको जिल्ला न्यायाधिवक्ता देवकुमार गिरीले बताए ।
दैनिक भत्तावापतको रु ३५० र बस भाडा उपलब्ध गराउने नियम बमोजिम सरकारवादी फौजदारी मुद्दाका सरकारी साक्षीहरुलाई रकम दिइने गिरीले जानकारी दिए ।
सरकारवादी फौजदारी मुद्दाहरुमा साक्षीको रुपमा रहेकाहरु अनुपस्थित रहने समस्या रहेकाले सरकारले यो प्रावधान ल्याएको हो ।
यस वर्षका लागि जिल्ला प्रहरी कार्यालयमा यस किसिमको खर्चका लागि रु १५ हजार आएको छ । गिरीका अनुसार वर्षमा ५०० को हाराहारीमा सरकारी साक्षी हुने भएकाले उनीहरुलाई आगामी दिनमा नियमितरुपमा सरकारले यस्तो रकम उपलब्ध गराउने बताउनुभयो ।
रासस
