समाचारबुधबार, आषाढ १९, २०७०
राष्ट्रपति र नेता पौडेलबीच छलफल
राष्ट्रपति रामवरण यादवलाई भेट्न १९ असार दिउँसो शीतलनिवास पुगेका नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सरकार तथा चार दल बढी सक्रिय भएर सबैलाई चुनावमा जाने वातावरण बनाउन राष्ट्रपतिले आग्रह गरेको बताए ।
नेकपा–माओवादीको पोखरामा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी संविधानसभाको निर्वाचन बिथोल्ने भन्ने निर्णय सार्वजनिक भएको बेला राष्ट्रपतिको यस्तो भनाइ आएको हो ।
सो अवसरमा राष्ट्रपति यादवले आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागी गराउन चार दलको बढी सक्रियता हनुपर्ने सुझाव दिएको पनि पौडेलले बताए ।
राष्ट्रपतिसँग सरकारले ल्याउन लागेको बजेटबारे पनि छलफल भएको भन्दै पौडेलले लामो समयदेखि पूर्ण बजेट आउन नसकेको र त्यसले अर्थतन्त्र एवम् विकासमा परेको प्रभावबारे छलफल भएको जानकारी दिए ।
वर्तमान सरकार कुनै दलको नभएकाले कुनै पार्टीको विशेषता झल्कने र नयाँ नीति एवम् कार्यक्रम पनि ल्याउन नहुने आफ्नो धारणा राखेको पौडेलको भनाई थियो ।
“पूर्ण बजेट ल्याउन आपत्ति गर्न खोजेको होइन तर, चुनावी सरकारले बजेट ल्याउँदा दूरगामी प्रभाव पार्ने र नयाँ नीति एवम् कार्यक्रम घोषणा गर्ने खालका रुपमा नआओस् भनेर सुझाव दिएको हुँ देशको अर्थतन्त्र र जनताको आवश्यकतालाई ध्यानमा राखेर बीचको बाटोबाट जान सकिन्छ भन्ने हो” बजेटबारे राष्ट्रपतिको भनाइ उद्धृृत गर्दै पौडेलले जानकारी दिए ।
