समाचारबिहीबार, आषाढ २०, २०७०
‘राजनीतिक छवि ध्वस्त पार्न मलाई मुछियो’–सुरेन्द्र पाण्डे
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो राजनीतिक छवि ध्वस्त पार्न युनिटीसँग आफूलाई जोडिएको बताएका छन् ।
युनिटी लाइफ इन्टरनेशनलसँग पाण्डेले रु. ५ करोड लिएको समाचार बुधबार साप्ताहिकमा प्रकाशित भएपछि २० असारमा राजधानीमा पत्रकार सम्मेलन गरी उनले सुनियोजितरुपमा युनिटीसँग जोडेर आफ्नो बद्नाम गर्न खोजेको उल्लेख गरे ।
उनले भने ‘युनिटीसग जोडिएका व्यक्तिलाई उद्धृत गर्दै पत्रपत्रिकामा समाचार छपाउनु बदनियतपूर्ण, सुनियोजित तथा राजनीतिक रुपले मेरो निजी र सार्वजनिक छविमाथि आँच पुर्याउने कुनियत हो भन्ने मेरो ठहर छ ।’
आफू अर्थमन्त्री भएको सरकारले युनिटीका गतिविधी अवैधानिक हुन् भन्ने निर्णय गरेको र त्यसका दोषीहरुलाई कारवाही गरेको बताउँदै पाण्डेले कारवाही गर्ने र कारवाही पर्नेबीच साँठागाँठ रहेको भन्नु गलत भएको बताए ।
तीन वर्षपछि कथित पात्र खडा गरेर हुदै नभएको कुरा उठाएको बताउँदै उनले युनिटीका कसैबाट पैसा लिएको प्रमाणित गर्न चुनौति दिए । उनले भने ‘जोसुकैले छानबिन गर्न सक्छ, कहिँ कतै संलग्नता देखिए कारबाही भोग्न तयार छु । ’
समाचारमा उल्लेख भएको यूनिटी, कृष्ण पाठक र टंक पनेरुलाई नचिनेको पनि पाण्डेको भनाई थियो । पार्टीको महाधिवेशन नजिकिंदै गर्दा चरित्र हत्या गर्ने नियतले आएको समाचारले धेरै आशंका जन्माएको पनि उनले बताए ।
युनिटी प्रकरणमा ३० महिना तीन दिन जेल बसेर रु. ३७ लाख धरौटीमा रिहा भएका एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले पाण्डेलाई नगद र जिन्सी गरेर रु. पाँच करोड दिएको आरोप लगाएको बुधबारको समाचारमा उल्लेख छ ।
पाठकले पैसा दिएको आरोप पत्र एमाले अध्यक्ष झलनाथ खनाललाई दिएको पनि समाचारमा लेखिएको छ । पाण्डेको पत्रकार सम्मेलनमा आएका टंक पनेरुले आफू यूनीटिमा संलग्न भए पनि कसैलाई रकम नबुझाएको बताए ।
