समाचारशुक्रबार, आषाढ २१, २०७०
काठ तस्करीको आरोपमा रेन्जर नै पक्राउ
मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनबाट सखुवाको गोलाई काठ ओसारपसारमा सहयोग गरेको आरोपमा २१ असारमा रेन्जर मोहम्मद सलाउद्दिन अन्सारी र लेटाङका हरि निरौलालाई पक्राउ गरी इलाका वन कार्यालय बेलवारीमा राखिएको छ ।
पक्राउ परेका निरौला र रेन्जर अन्सारीलाई ५४ क्यूफिट सखुवाको गोलाई काठसहित इलाका प्रहरी कार्यालय लेटाङले पक्राउ गरेको हो । मोरङ जिल्लामा विभिन्न सामुदायिक वनबाट व्यापक रुपमा काठ चोरीतस्करी हुन लागेकाले प्रहरीले सुरक्षा सर्तकता बढाएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक भूपेन्द्र कार्कीले बताए । यता इलाका वन कार्यालय बेलवारीका प्रमुख झाले काठ चोरी तस्करी गर्नेलाई कुनै हालतमा नछोड्ने बताए । रासस
