समाचारशुक्रबार, आषाढ २१, २०७०
नेकपा–माओवादीद्वारा कांग्रेसको प्रस्ताव अस्वीकार
२० असारमा नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा दुई पार्टीका नेताहरूबीच भएको छलफलमा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निर्वाचनमा सहभागी हुन कांग्रेसले माओवादीलाई आग्रह गरेको थियो ।
माओवादीले भने २५ बुँदे बाधा अड्काउ फुकाउको खारेज गरेर दलीय सरकार गठन भएपछि मात्रै निर्वाचनमा सहभागी हुने अडान राखेको छ । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकार परिवर्तनको संभावना नरहेको बताए ।
पौडेलले नेकपा–माओवादीले आफ्ना असन्तुष्टिहरू राखेकाले अन्य दलसँग छलफल गरेर माग पूरा गराउन प्रयास गर्ने जानकारी दिए । माओवादीका सचिव देव गुरुङले विघटित संविधानसभाले पूरा नगरेका कामलाई प्राथमिकतामा राखेर अघि बढे मात्रै निर्वाचन संभव हुने बताए ।
बैठकमा उपसभापति पौडेलसहित कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला तथा नेता मिनेन्द्र रिजाल सहभागी थिए भने माओवादीको तर्फबाट अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्द सहभागी थिए ।
