समाचारशुक्रबार, आषाढ २१, २०७०
समायोजित पूर्व लडाकूले आधार तालीम पूरा गरे
समायोजित लडाकू समेतलाई समावेश गरी सेनाले विभिन्न ८ वटा तालीम केन्द्रमा सञ्चालन गरेको आधार तालीम २१ असारमा विशेष कार्यक्रम बीच समापन भएको छ । समायोजनमा गएका एक हजार ३५२ जना पूर्व लडाकूले यो तालीम पूरा गरेका हुन् । समायोजन रोजेका पूर्व लडाकूहरूलाई पूर्णतः व्यावसायिक सैनिक सिपाहीको रूपमा स्थापित गर्न यो तालीमले महत्वपूर्ण भूमिका खेलेको नेपाली सेनाले जनाएको छ ।

२१ असारमा सैन्य तालिम केन्द्र त्रिशुलीमा भएको अन्तिम दलेल कवाज प्रस्तुत गर्दै पूर्व माओवादी लडाकुहरु सैनिक पोशाकमा । तस्बीर: नेपाली सेना
सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समायोजित लडाकूहरू यो तालीम पश्चात राष्ट्रिय सेनाको एक कर्मठ, अनुशासित, निष्पक्ष, गैरराजनीतिक र पेशेवर सैनिक सदस्यको रूपमा स्थापित भएको विश्वास नेपाली सेनाले लिएको छ ।”
राजनीतिक सहमतिका आधारमा सेना समायोजन विशेष समितिले गरेको निर्णय अनुसार नेपाली सेनामा समायोजनको निर्णय भएका पूर्व लडाकूहरूमध्ये अधिकृत तहमा छनोट भएका ७१ जना पूर्वलडाकू नेपाली सैनिक प्रतिष्ठानमा र बाँकी एकहजार ३७३ पदिक तथा अन्य दर्जामा समायोजित हुने सैन्यहरू सेनाका देशभर रहेका विभिन्न आठ वटा तालीम केन्द्रमा तालीमरत थिए । मध्य सैन्य तालीम केन्द्र त्रिशूलीमा ४७९ जना, एकीकृत सैनिक तालीम केन्द्र सालझण्डीमा १९१, पूर्वी पृतना तालीम शिक्षालय इटहरीमा ८०, पश्चिम पृतना तालीम शिक्षालय खैरेनीटारमा ८५, मध्यपश्चिम पृतना तालीम शिक्षालय नेपालगञ्जमा ८६, नम्बर २ सैन्य तालीम गुल्म हिलेमा १७३, नम्बर ४ सैन्य तालीम गुल्म सुर्खेतमा ८७ र नम्बर ५ सैन्य तालीम गुल्ममा १७१ जनाले तालीम लिएका थिए । समायोजनका लागि छानिएका २१ जना पूर्व लडाकू तालीम पूरा नगरी बाहिरिएका थिए ।
सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत तहमा तालीमरत ७० जना पूर्वलडाकूको आधार तालीम भने आउँदो भदौमा सम्पन्न हुने सेनाले जनाएको छ । नेपाली सेनाको त्रिशूलीस्थित तालीम केन्द्रमा सञ्चालित तालीम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज निरीक्षण गर्न सैनिक विनय (तालीम) महानिर्देशक उपरथी भिक्टर जबरा पुगेका थिए । त्यसैगरी अन्य केन्द्रमा सम्बन्धित क्षेत्रका पृतनापति र बाहिनीपतिहरूले कवाज निरीक्षण गरेका थिए ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, समायोजनमा छनोट भए पनि तालीम शुरू हुनुअघि नै ‘स्वेच्छिक अवकाश’मा गएका १६ जना, तालीमका दौरान विविध कारणले स्वेच्छिक अवकाश लिएका १३ र अधिकृत तहमा तालीमरत १, मेडिकल ‘अनफिट’ भएका ३ र तालीम छाडेर भागेका पाँच गरी कुल ३८ जना लडाकूले तालीम पूरा गरेनन् ।

२१ असारमा सैन्य तालिम केन्द्र त्रिशुलीमा भएको अन्तिम दलेल कवाजको निरीक्षण गर्दै सैनिक विनय महा–निर्देशक उपरथी भिक्टर जबरा । तस्बीर: नेपाली सेना
समायोजन तालीम पूरा गरेकामध्ये सिपाही दर्जा निर्धारण भएकाहरू सम्बन्धित युनिटमा हाजिर हुन जाने र उनीहरूलाई हाजिरपछि तीन महीनाको दर्जा विशेष तालिम संचालन गरिने सेनाले जनाएको छ ।
तीमध्ये प्युठ र अमल्दारको हकमा नेपाली सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार क्याडर ग्रेड(३ को ६ हप्ताको ब्रिजिङ्ग तालीम पूरा गरेपछि सम्बन्धित दर्जाको दज्र्यानी चिन्ह प्रदान गरी त्यसपछि निर्देशनालयको भूमिका, जिम्मेवारी र पेशागत ज्ञान सम्बन्धी थप ६ साताको तालीम दिएर कार्यक्षेत्रमा पठाइने सेनाले जनाएको छ । पूर्व लडाकूलाई सुरक्षा तथा विकास महानिर्देशनालय गठन गरी त्यसमा समायोजन गर्ने निर्णय यसअघि नै भइसकेको छ ।
समायोजित सैन्यहरूमध्ये हुद्दादेखि पदिकसम्मको हकमा नेपाली सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार क्याडर ग्रेड-३ र गे्रड-२ को ६/६ गरी कुल १२ साता लामो तालीम पूरा गरेपछि दज्र्यानी चिन्ह प्रदान गरिने र त्यसपछि सम्बन्धित निर्देशनालयको भूमिका तथा जिम्मेवारी सम्बन्धी दुई साताको तालीम दिएर कार्यक्षेत्रमा परिचालन गरिने सेनाले जनाएको छ ।
‘माओवादी सेनाका लडाकुहरूको समायोजन सम्बन्धी कार्यविधि २०६९’ अनुसार दर्जा मिलान भइसकेपछि सकलदर्जाको नियुक्ति तथा पदोन्नति सैनिक ऐन २०६३, सैनिक नियमावली २०६९ र सामान्य सिद्धान्त २०६४ बमोजिम हुने समेत सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२१ असारमा सैन्य तालिम केन्द्र त्रिशुलीमा भएको अन्तिम दलेल कवाजको निरीक्षण गर्दै सैनिक विनय महा–निर्देशक उपरथी भिक्टर जबरा । तस्बीर: नेपाली सेना
