समाचारशनिबार, आषाढ २२, २०७०

द्वन्द्वका मृतक र बेपत्ताका आफन्तलाई साउनदेखि परिचयपत्र

हिमालखबर

सरकारले ४ चैत्र २०६९ मा पारित गरेको परिचयपत्र वितरणसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने सन्दर्भमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जिल्लामा रहेका मृतक र बेपत्ताका आफन्तलाई परिचयपत्र वितरण गर्न निर्देशन दिएपछि सुर्खेतमा साउनदेखि परिचयपत्र वितरण गर्न लागिएको हो ।

दस वर्षे माओवादी जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, थरुहट आन्दोलन, तराई–मधेस आन्दोलन, पिछडा वर्ग आन्दोलनका क्रममा मृत्यु भएका र बेपत्ता भएकाहरुको परिवारजनले मात्रै परिचयपत्र पाउने सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले जानकारी दिए । परिचयपत्र वितरण गर्दा मृतक तथा बेपत्ताको सबैभन्दा नजिकको आफन्तको पहिचान गरी परिचयपत्र वितरण गरिने कुँवरको भनाइ छ ।

परिचयपत्र पाउन यसअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा गठित द्वन्द्वपीडित व्यक्ति, परिवार तथा संरचनाको लगत सङ्कलन कार्यदलको प्रतिवेदनमा नाम दर्ता भएको हुनुपर्ने छ । मृतक र बेपत्ताका नजिकका व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा स्वयम् उपस्थित भई निवेदन दिएर परिचयपत्र लिनुपर्ने प्रमुख जिल्ला अधिकारी कुँवरले बताए ।

कार्यदलको प्रतिवेदनअनुसार सुर्खेतमा मृतकको सङ्ख्या ३३० रहेको छ । यसमध्ये २७८ जनाले राहत पाइसकेका छन् । यस्तै बेपत्ता पारिएका १३ जनाका परिवारलाई राहत दिइसकिएको छ भने थप नौ जनाका आफन्तलाई राहतका लागि सिफारिस गरिएको छ । परिचयपत्र पनि यसअघि राहत पाएका मृतक र बेपत्ताका आफन्तले मात्रै पाउने छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>