समाचारआइतबार, आषाढ २३, २०७०

‘मानसिक समस्याका कारक माओवादी द्वन्द्व’

हिमालखबर

नेपाल मेन्टल हेल्थ फाउन्डेसनले २३ असारमा काठमाण्डौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नेपाली कांगे्रसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी द्वन्द्वले मानसिक स्वास्थ्य समस्या बढाएको बताए । आत्महत्याको कारक पनि मानसिक समस्या नै भएको उनको भनाई थियो । देउवाले यस्ता व्यक्तिलाई समाजले अझै पनि सकारात्मक रूपमा लिन नसकेकाले दलहरूले नै यो विषयलाई गम्भिर रुपमा लिनुपर्ने बताए ।

अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मानसिक स्वास्थ्य समस्या बढ्नुमा राजनीतिक द्वन्द्व जिम्मेवार रहेको धारणा राखे । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको अधिकारलाई आफ्नो पार्टीको राजनैतिक एजेण्डा बनाएर लैजाने उनले कार्यक्रममा प्रतिवद्धता व्यक्त गरे । खनालले मानसिक अपाङ्गता भएका व्यक्तिको समस्या अन्तरिम संविधानमा समेट्न नसक्दा यस्ता स्वास्थ्य समस्या भएका व्यक्तिले सामाजिक विभेदको सामना गर्नु परेको उल्लेख गरे ।

कार्यक्रममा एनेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक इच्छा शक्ति भए मात्रै मानसिक अपाङ्गताको समस्या समाधान गर्न सकिने बताए । सामाजिक न्याय नभएसम्म समुदायका धेरै व्यक्तिले कुनै न कुनै किसिमको मानसिक समस्या भोग्नु परेको श्रेष्ठको तर्क थियो ।

तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र देवले द्वन्द्व कालमा आफन्त गुमाएकाहरूमा बढी मानसिक समस्या देखिएको बताए । यस्ता समस्याको राजनीतिक समाधान खोज्न आफ्नो पार्टी तत्पर रहेको देवको भनाई थियो ।

अधिवक्ता सविन श्रेष्ठले ‘मानसिक स्वास्थ्य ठीक नभएका व्यक्तिलाई नेल ठोकेर राख्नुपर्छ’ भन्ने मुलुकी ऐनको प्रावधानले मानसीक रोगीले न्याय र उपचार दुबै पाउन नसकेको बताए । त्यस्तै शिक्षण अस्पताल महाराजगञ्जका मानसीक रोग विशेषज्ञ सरोज ओझाले मानसिक स्वास्थ्य विभागको आवश्यकता औंल्याए ।

कार्यक्रममा मानसीक रोग विशेषज्ञ डा. केदार नरसिंह केसी, राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारी, साप्ताहिक खबरपत्रिका हिमालका सम्पादक किरण नेपाल, राष्ट्रिय अपाङ महासघंकी महासचिव टीका दाहाल, महिला सञ्चारकर्मीहरूको सक्रियताकी अध्यक्ष मनिषा घिमिरेलगायतले मानसिक समस्याको विषयमा मन्तब्य राखेका थिए । नेपाल मेन्टल हेल्थ फाउन्डेसनका अध्यक्ष जगन्नाथ लामिछानेले ‘नेपालको राजनीतिक मुद्दाका रूपमा मनोसामाजिक अपाङ्गता र द्वन्द्व भोगेका अन्य देशहरूबाट सिकिएको पाठ विषयक’ कार्यपत्र प्रस्तुत गरेका थिए ।

मीना शर्मा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>