समाचारबिहीबार, आषाढ २७, २०७०
पहिरोमा पुरिएर दुईको मृत्यु
२७ असार बिहान गोठिवाङ–२, लामाचौरमा पहिरोले पुर्दा रोल्पा जिल्ला विकास समितिमा कार्यरत दुई जना कर्मचारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार रोल्पा जिविसमा कार्यरत रोल्पा लिवाङका इन्जिनियर देवराज आचार्यको घटनास्थलमै ज्यान गएको छ भने अर्का प्राविधिक लोकबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।
कार्कीका अनुसार सडकमा रोकिराखेको बा १ झ ८८२३ नं को रोल्पा जिविसको सरकारी गाडीमाथि पहिरो खसेर पुरिँदा यस्तो दुर्घटना भएको हो । त्यसैगरी गाडीमा सवार लिवाङ–६, रोल्पाका भुवन श्रेष्ठ घाइते भएका छन् ।
घाइतेको उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको छ भने पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण प्युठान–चकचके, रोल्पा–लिवाङ सडकखण्डअन्तर्गत पर्ने यो सडकखण्डमा पहिरो गएको हो ।
