समाचारशनिबार, आषाढ २९, २०७०
दीर्घकालीन महत्वका निर्णय नलिन सरकारको ध्यानाकर्षण
नयाँबानेश्वरमा २९ असारमा बसेको उच्चस्तरिय समितिको बैठकले वर्तमान सरकार निर्वाचन सम्पन्न गराउनका लागि मात्रै गठन भएकाले दीर्घकालीन महत्व राख्ने कुनै पनि निर्णय नगर्न ध्यानाकर्षण गराएको हो । सरकारले भारतीय विदेशमन्त्री सलमान खुर्सिदको भ्रमणका बेला लुम्बिनी, इलामको पशुपतिनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अध्यागमन कार्यालयको चेकप्वाइन्ट राख्ने संझौता गरेको थियो ।
बैठकपछि सञ्चारकर्मीसग कुरा गर्दै एमाले नेता रघुजी पन्तले चुनावको वातावरण बन्दै गएकाले संविधानसभा निर्वाचनको तयारीमा लाग्न सरकार र निर्वाचन आयोगलाई सुझाव दिने निर्णय गरेको बताए । नेकपा–माओवादीले वार्ताका लागि टोलीसमेत घोषणा गरिसकेकाले तत्काल वार्ता गरी समस्या समाधान गर्ने निर्णय गरेको पन्तले जानकारी दिए ।
समितिका संयोजक विजयकुमार गच्छदार, एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, नेता रामशरण महत, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य केपी ओलीलगायतका नेताहरु बैठकमा सहभागी थिए ।
