समाचारसोमबार, आषाढ ३१, २०७०
एक करोड २१ लाखद्वारा मतदाता नामावली दर्ता
मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन ३१ असारमा मुलुकभरी नै मतदाता नामावली दर्ता केन्द्रहरूमा भिड लागेको थियो । मुलुकभर एक करोड ६० लाख मतदाता छन् । ‘काठमाडौँ उपत्यकाका नामावली सङ्कलन केन्द्रहरूमा न्यूनतम १५ देखि अधिकतम ४० वटासम्म स्टल राखिए पनि सबैको नाम दर्ता गराउन सकिएन,’ निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले भने ।
राईले काठमाडौँ जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मात्रै २५ हजारभन्दा बढीले नामावली दर्ता गराएको जानकारी दिए । राईले ४० वटा स्टल राखेको र बिहान ६ बजेदेखि राति ९ बजेसम्म फोटोसहितको नामावली दर्ता गरिएको बताए । २० असारदेखि नामावली सङ्कल केन्द्रहरूमा भिड बढेको र नामावली दर्ता गराउनेहरूको उल्लेख्य उपस्थिति रहेको भन्दै प्रवक्ता राईले छुटेकाहरूको नामावली दर्ता गराउने विषयमा भने अहिले आफूले केही भन्न नसक्ने बताए ।
नामावली दर्ता गराउनेहरूको भिडका कारण आज सिंहदरबार दक्षिण गेट आसपासको ट्राफिक व्यवस्थापनमा समेत असर परेको थियो । तर नामावली दर्ता गराउन आएकाहरूले दर्ता गराउनु त परै जाओस् फर्म समेत नपाएको गुनासो गरेका थिए ।
गुल्मी घर भई मतदाता नामावली दर्ता गराउन काठमाडौँ निर्वाचन कार्यालय पुगेका विष्णु पन्थीले भन्नुभयो, ‘नाम दर्ता गराउन आएको नाम दर्ता त परै जाओस्, फर्म समेत पाइएन ।’ अत्यधिक भिडका कारण लामो समय लाइनमा बसेकाहरूले अन्तिममा फर्मसमेत नपाएर फर्किएका थिए ।
