थप समाचारमंगलबार, साउन १, २०७०

सतायो सर्पदंशले

हिमालखबर

२१ असार बिहान ७ बजे झापा बैगुन्धुरा–९ की सातवर्षे मञ्जु ऋषिदेवलाई सुतिरहेको ठाउँमा गोमन सर्पले डसेपछि हतारहतार दमक रेडक्रसको सर्पदंश उपचार केन्द्र पुर्‍याइयो, जहाँ उनलाई तीन दिनमा दुई पटक अक्सिजन र कडा औषधि भएको ‘१५ भाइल एएसभी’ दिनुपर्‍यो।

सर्पले डसेकी बालिका मञ्जु ऋषिदेव र उनलाई डस्ने गोमन सर्प तलको तस्वीरमा । तस्बीर: गोपाल गड्तौला

त्यही दिन धान रोप्दै गर्दा हातमा सर्पले डसेपछि मोरङ मधुमल्ला–७ की भीमकुमारी श्रेष्ठ (५०) लाई पनि रेडक्रसकै सर्पदंश केन्द्र पुर्‍याइयो। जहाँ, त्यही दिन सर्पको डसाइबाट पीडित झापा तोपगाछी–२ की २०वर्षे मुना दंगाललाई पनि ल्याइएको थियो। श्रेष्ठ र दंगाललाई डस्ने सर्प धेरै विषालु नभएकाले ‘एन्टी स्नेक भेनम एएसभी’ दिनु परेन।

वर्षामा बढी

दमकको सर्पदंश उपचार केन्द्रका स्वास्थ्यकर्मी देवीप्रसाद भण्डारीका अनुसार उपचार केन्द्रमा सर्पले बढी डस्ने वर्षायाममा दैनिक ५/६ जना ल्याइन्छन्। पछिल्लो ११ महीनामा त्यहाँ ल्याइएका पूर्वी मोरङ र पश्चिम झापाका १ हजार ८७ जनामध्ये १५४ जनालाई गोमन, करेत, गुरुबे र हरेउ जस्ता विषालु सर्पले डसेका थिए।

तीमध्ये झ्ण्डै ६० प्रतिशत अर्थात् ६७० जना महिला थिए। पछिल्लो ११ महीनामा त्यहाँ ल्याइएका बिरामीमा ७ जनाको निधन भएको बताउँदै भण्डारी भन्छन्, “गाउँको झारफुकबाटै निको पार्न खोज्दा नभएपछि ढिलो आइपुग्नेहरूको मृत्यु भएको हो, सर्पले डसेको आधा घण्टामा यहाँ ल्याउने हो भने कोही मर्दैनन्।”

असार दोस्रो साता गोमन सर्पले डसेर उपचार गराएकी झापा महारानीझोडाकी लक्ष्मी गौतम । तस्बीर: गोपाल गड्तौला

वर्षाको पानीले बासस्थान दुलाहरू भरिएपछि आहारा र न्यानो खोज्दै सतहमा निस्केका सर्पले मानिसलाई डस्ने गर्छ। घाँस काट्ने, धान रोप्ने, माचको पराल तान्ने र कोठेबारीको काम बढी गर्ने हुनाले सर्पको डसाइबाट महिला बढी पीडित हुन्छन्।

चिकित्सकहरूका अनुसार, एउटा वयस्क गोमन सर्पको विषथैलोमा १५० मिलिग्राम विष हुन्छ। जबकि, सर्पको १५ मिलिग्राम विष वयस्क मानिसलाई मार्न पर्याप्त हुन्छ। एउटा करेतमा हुने २० मिलिग्राम विषले चार जना मानिसलाई मृत्युको मुखमा पुर्‍याउन सक्छ।

सर्पको विष मानिसको शरीरमा प्रवेश गरेपछि केन्द्रीय स्नायु प्रणाली र मांसपेशीलाई असर पार्छ र रगत पनि फटाउँछ। र, त्यसको बेलैमा उपचार नहुँदा मानिसको मृत्यु हुन्छ।

पहिले पूर्वी झापाको चारआलीमा रहेको सेनाको ब्यारेकमा मात्र सर्पदंशको उपचार हुने गरेकोमा २६ जेठ २०५५ मा रेडक्रस उपशाखाले स्थापना गरेको पश्चिम झापाको दमकमा सर्पदंशको उपचार शुरू भएको हो।

रेडक्रसको दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी भन्छन्, “गरीब, खेतमा काम गर्ने र झुप्राको भुईंमा सुत्ने आदिवासीहरूको समस्यालाई विचार गरेर उपचार केन्द्र खोलिएको हो।”

उपशाखाले सर्पले डसेर ल्याएका एक जना बिरामीबाट रु.२ हजार शुल्क लिने गरेको छ। त्यो रकमबाट बिरामीलाई ल्याइदिने मोटरसाइकल चालकलाई दूरी हेरी रु.३०० देखि रु.५०० सम्म उपशाखाले दिन्छ।

यसका लागि उपशाखाले झापा र मोरङको ग्रामीण क्षेत्रका दुई सय युवालाई मोटरसाइकल स्वयंसेवकको तालीम दिएको छ। रेडक्रस उपशाखा दमकको सर्पदंश उपचार कार्यक्रमलाई स्वीट्जरल्याण्डको जेनेभा हस्पिटल एण्ड युनिभर्सिटी र संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले सहयोग गरेको छ।

जेनेभा हस्पिटलले विषालु सर्पले डसेका ठाउँमा रहेको रहलपहल विष र रगत संकलन पनि गर्ने गरेको छ। अध्ययन र अनुसन्धानमा काम लाग्ने त्यस्तो विष र रगत विगत दुई वर्षमा २०० जनाको संकलन गरेर पठाइएको छ।

यस्तो विष र रगत लगेबापत हस्पिटलले रेडक्रसको दमक उपशाखाको सर्पदंश उपचार केन्द्रलाई आवश्यक उपकरण र र औषधि एएसभी उपलब्ध गराएको छ। शरणार्थी आयोगले केन्द्रलाई रु.२५ लाख बराबरको एम्बुलेन्स र बिरामीको मुटुको चाल नाप्ने पोर्टेबल भ्यान्टिलेटर प्रदान गरेको छ।

गोपाल गड्तौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>