समाचारशनिबार, साउन ५, २०७०

एमाले राष्ट्रिय महाधिवेशन चुनावपछि

हिमालखबर

एमालेको जारी केन्द्रीय कमिटीको २२ औँ बैठकको दोस्रो दिन ५ साउनमा पार्टी अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख भएअनुसार नवौँ महाधिवेशन गर्ने निर्णय भएको हो । संविधानसभाको निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने कतिपय नेताको माग रहेपनि बैठकले निर्वाचन पछि नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो । एमालेको आठौँ महाधिवेशन गत २०६५ मा बुटवलमा भएको थियो ।
यसैगरी, आज पारित प्रस्तावमा ४ मङ्सिर २०७०का लागि निर्धारित संविधानसभाको निर्वाचन सुनिश्चित गर्न र निर्वाचनमा पार्टीको अग्रस्थान सुरक्षित गर्न एकीकृत तथा केन्द्रीकृत योजनाका साथ सम्पूर्ण पार्टी शक्तिलाई परिचालन गर्ने उल्लिखित छ ।

यस्तै, संविधानसभा निर्वाचनको तयारीसँग जोडेर “तराई–मधेस अभियान–२०७०” सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्दा अन्तरिम संविधान–२०६३ को व्यवस्था अनुरुप हुनुपर्ने, संविधानसभामा ३३ प्रतिशत महिला र १० प्रतिशत श्रमिक सहभागिता सुनिश्चित गर्न सक्रिय पहलकदमी लिने, निर्वाचन परिचालन कमिटी, घोषणापत्र मस्यौदा कमिटी, उम्मेदवार छनोटको प्रक्रिया निर्धारणलगायत संविधानसभासँग सम्बन्धित विषयहरुमा गृहकार्य गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

बैठकपछि एमालेका सचिवालयका सचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संविधानसभा निर्वाचनको तयारीका सिलसिलामा २०७० भदौ तेश्रो साता बृहत् राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने, संविधानसभा निर्वाचनको लगत्तैपछि पार्टी विधानमा संशोधनका लागि राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने निर्णय गरेको जनाइएको छ । बैठकमा अध्यक्ष खनालद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमाथि ५७ जनाले विचार राखेका थिए । बैठक ६ साउनमा पनि बस्नेछ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>