थप समाचारमंगलबार, साउन ८, २०७०
उपचारको अभावमा पच्चिस वर्षदेखि काठको खोरमा
कास्कीको हेम्जास्थित बास्कोटका घनश्याम गौतमलाई हेरविचार गर्ने कोही नहुँदा उनलाई काठको खोरमा थुनेर राखिएको छ । सँगै भएकी आमालाई पनि घर धन्दा र बनिबुतो गर्नु पर्ने हुँदा शारिरिक र मानसिकरुपमा अस्वस्थ्य छोरालाई काठको खोरमा थुन्नु बाध्यता भएको उनकी आमा राधिका बताउँछिन् ।
२०४४ साल मंसीरमा जन्मिएका गौतमको टाउको शरिरले नधानेपछि सात महिनाको छँदै काठमाडौंमा टाउकोको शल्याक्रिया गरिएको थियो । शल्यक्रिया गरेपछि पनि पुनः स्वास्थ्य परीक्षण गराउन पर्ने सुझाव चिकित्सकले दिए पनि आर्थिक अभावमा उनको उपचार गर्न नसकिएको आमा राधिकाले बताइन् ।
उतीबेला शल्यक्रिया गर्दा टाउकोदेखि पिसाव नलीसम्म राखिएको पाइप अझै पनि उनको शरीरमै छ । राधिकाका अनुसार बोल्न, हिडडुल गर्न नसक्ने गौतमले आफ्नो दिशा, पिसाव पनि तर्काउँदैनन् ।
“झोलिलो खाना मात्र खुवाउनु पर्छ,” आमा राधिकाले भनिन, “खुट्टा पनि लुलो छ, हिड्न सक्दैन ।” श्रीमनाले अर्र्की श्रीमती ल्याएर आफू र छोरालाई बेवास्ता गरेपछि छोराको उपचार गराउन नसकेको आमा राधिकाले बिलौना गरिन् । “त्यतिबेलै राम्रोसँग उपचार गरेको भए निको हुन्थ्यो होला” ५६ वर्षीया राधिका भन्छिन, “म पनि उच्चरक्त चापबाट पीडित छु, छोराको स्याहार सुसार गर्न समस्या छ । ”
“घरमा एक्लै छु, काम धन्दा पनि गर्नु पर्यो,” राधिकाले भनीन्, “हेर्ने कोही पनि छैनन्, छोरालाई काठको खोर बनाएर राख्नु परेको छ ।”
माधव बराल, पोखरा
