समाचारमंगलबार, साउन ८, २०७०
२५ बुँदे र ११ बुँदे संशोधन हुन सक्छः तीन दल
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटी, कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले सचिव शंकर पोख्रेलले नेकपा–माओवादी र संघीय लोकतान्त्रिक मोर्चासहितका असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागि हुने बातावरण बनाउन २५ बुंदे बाधा अडकाउ फुकाउ र ११ बुंदे सहमति संसोधन गर्न तयार रहेको बताएका छन् ।
साक्षात्कार एमाओवादी नेता पोष्टबहादुर बोगटीले ४ मंसीरको निर्वाचन र सरकारको खारेजी बाहेक सबै विषयमा सम्झौता गर्न तयार रहेको स्पष्ट पार्दै चार शक्तिवीच भएको ११ बुँदे राजनीतिक सहमति र राष्ट्रपतिद्धारा जारी २५ बुँदे बाधा अडकाउ फुकाउ आदेशमा संसोधन गर्न तयार रहेको बताए ।
वार्ता भनेकै गिभ एण्ड टेक भएकोले असन्तुष्ट पक्षहरुको सबै माग पुरा हुनै नसक्ने भन्दै उच्चस्तरीय राजनीतिक समितिको विस्तार, गोलमेच सम्मेलन गर्ने र विगतमा संविधानसभामा भएका सहमतिलाई स्विकार्ने विषयमा पनि आफूहरु सकारात्मक रहेको उनले बताए ।
उनले नेकपा–माओवादीले शर्त सहितको वार्ताको आह्वान भएकोले नआउने जनाएपछि उच्चस्तरीय राजनीतिक समितिले शर्त नझल्किने गरी वार्ताको लागि फेरि आह्वान गर्ने निर्णय गरेको भन्दै मंगलबारभित्रै पत्र पठाउने जानकारी दिए ।
नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकारको परिवर्तन र निर्वाचनको मिति सार्ने बाहेक सबै असन्तुष्ट पक्षहरुको माग पुरा गर्नु पर्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पार्दै अहिलेको सरकार हटाउँदा निर्वाचन पर धकेलिने भएकोले त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने जिकिर गरे । उनले भने, “सरकार परिवर्तन र निर्वाचनको मिति सार्ने बाहेकको सबै मागमा काग्रेस पुग्छ ।”
असन्तुष्ट पक्षहरुले अघि सारेको मागमा आफ्नो सैद्धान्तिक सहमति भए पनि ब्यवहारिक रुपमा राजनीतिक शून्यताको अवस्था भएकोले निर्वाचनको विकल्प नभएको उनको तर्क थियो ।
काग्रेसकै नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भएकोले काग्रेस संघीयताप्रति प्रतिबद्ध भए पनि एकल जातीय पहिचान सहितको संघीयताको पक्षमा कुनै पनि हालतमा उभिन नसक्ने भन्दै उनले अन्तिम समयसम्म त्यसको विरोधमा काग्रेस उभिने स्पष्ट पारे ।
नेकपा एमालेका सचिव शंकर पोख्रेलले निर्वाचनको सुनिश्चितताको लागि चार शक्तिवीच भएको ११ बुँदे राजनीतिक सहमति र राष्ट्रपतिद्धारा जारी २५ बुँदे बाधा अडकाउ फुकाउ आदेशमा तलामाथि हुन सक्ने बताए । यद्यपि उनले त्यसको खारेजी भने असम्भव रहेको स्पष्ट पारे ।
विस्तृत शान्ति सम्झौता र १२ बुँदे सहमतिले लोकतन्त्र र संविधानसभालाई आत्मसाथ गरेकोले चुनाव बहिस्कार गर्ने कुरा सैद्धान्तिक रुपमै गलत भएको आरोप लगाउँदै उनले हिजो भएका सबै कुराहरु गलत थियो भन्ने मान्यता स्थापित गराउन पनि असन्तुष्ट दलहरुलाई निर्वाचनमा जानु पर्ने बाध्यता रहेको दावी गरे ।
सबै राष्ट्रबादीहरुसँग सहकार्य हुन्छ: गुरुङ
नेकपा–माओवादी सचिव देबप्रसाद गुरुङले यथास्थितिमा चुनाव गर्न खोजिए त्यो कुनै पनि हालतमा नमान्ने र बहिस्कार गर्ने स्पष्ट पार्दै भने, “जवरजस्ती चुनाव गर्न खोजे जीवन मरणको संघर्ष गर्न तयार छौ ।”
विदेशीलाई अधिकार दिएर रित्तो संविधानसभाको निर्वाचन गर्नुको औचित्य नभएको भन्दै जवरजस्ती गरिए राष्ट्रिय स्वाधिनताको लागि सबै राष्ट्रबादीहरुसँग सहकार्य गरेर अघि बढ्ने चेतावनी गुरुङले दिए ।
उनले भने, “राष्ट्र संकटमा परेको बेला, सार्वभौमिकता र राष्ट्रिय स्वाधिनता संकटमा परेको बेला सबै राष्ट्रबादीहरुसँग सहकार्य हुन्छ । त्यसबेला राजा सहित सबैसँग सहकार्य हुन सक्छ ।”
यद्यपि उनले अहिलेसम्म पूर्व राजासँग भेटेर कुराकानी भने नभईसकेको बताएका थिए ।
