समाचारबुधबार, साउन ९, २०७०

शक्ति समूहलाई म्यागासेसे पुरस्कार

हिमालखबर

फिलिपिन्सका पूर्व राष्ट्रपति रमोन म्यागासेसेको नाममा स्थापित ‘एसियाको नोबेल पुरस्कार’ मानिने रमोन म्यागसेसे पुरस्कार बेचविखनमा परेका महिलाहरुद्वारा सञ्चालित शक्ति समूहले प्राप्त गरेको छ ।

मनिलास्थित रमोन म्यागासेसे अवार्ड फाउन्डेसनको ९ साउनमा बसेको बैठकले नेपालको शक्ति समूहसहित फिलिपिनो चिकित्सक अर्नेस्टो डोमिङ्गो, अफगानिस्तानकी पहिलो महिला गर्भनर हविवा सरावी, म्यानमारका मानवअधिकारवादी लेवाई सेङ तथा इन्डोनेसियाली भ्रष्टाचार निवारण आयोग कोमिसी पेम्बर्नस्तान कोरुप्सीलाई पनि प्रदान गर्ने निर्णय गरेको छ।

“गत वर्ष फिलिपिन्सबाट आएको टोलीले अरु संघसंस्थासँगै हाम्रो संस्थाको पनि जानकारी लिएको थियो” समूहकी अध्यक्ष सुनिता दनुवारले हिमालखबरलाई भनिन्, “१५ दिन अगाडि संस्थाको प्रोफाइल मेल गर्नु भनेर इमेल आयो, त्यसपछि आजै बिहान म्यागासेसे पुरस्कार पाएको इमेल प्राप्त भयो ।”

म्यागसेसे फाउण्डेसनले शक्ति समूहका संस्थापक र सदस्यहरुले आफ्नो जीवन बेचविखनमा परेकाहरुको सेवामा लगाएको, नेपालको सामाजिक विकृति हटाउनका लागि समर्पित भएर लागेको र मानवीय गरिमा अक्षुण राख्नका लागि पहल गरी विश्वलाई उदाहरण दिएको भन्दै प्रशंसा गरेको छ ।

पुरस्कारद्वारा सम्मानित भएपछि अझ बढी काम गर्ने हौसला मिलेको र यो अवस्था आउनुमा सहयोगी संचारमाध्यम, विभिन्न व्यक्ति र निकायहरुलाई समूहकी अध्यक्ष दनुवारले धन्यवाद दिएकी छन् ।

उक्त पुरस्कार ३१ अगस्टमा फिलिपिन्सको राजधानी मनिलामा आयोजित कार्यक्रममा प्रदान गरिने संस्थाले जनाएको छ ।

नेपालबाट यसअघि महेशचन्द्र रेग्मी, भारतदत्त कोइराला, डा. सन्दुक रुइत र महावीर पुनले म्यागासेसे पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>