समाचारबिहीबार, साउन १०, २०७०

लगातार बन्दले नुवाकोटको जनजीवन प्रभावित

हिमालखबर

नुवाकोटको किम्ताङ गाविसस्थित किम्ताङका पहिरो प्रभावितले सरकारले आफ्नो मागको सुनुवाइ नगरेको भनी आह्वान गरेको अनिश्चितकालीन जिल्ला बन्द १० साउनमा दोस्रो दिन पनि जारी रहँदा जनजीवन प्रभावित भएको छ । बन्दका कारण जिल्लाको लामो तथा छोटो दूरीको यातायात सञ्चालन भएको छैन । बन्दका कारण रसुवा जिल्लाको यातायात सेवासमेत बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बन्द आयोजकसँग वार्ता गरी समस्या समाधान गर्न खोजे पनि ९ साउन अपराह्न भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो ।

‘पटक पटक विभिन्न सरकार प्रमुख र तत्कालिन राजादेखि अहिलेका गणतन्त्र नेपालका सरकार प्रमुखसम्मले किम्ताङको समस्यालाई गम्भीरतापूर्वक नलिएपछि’ बन्द गर्न बाध्य भएको किम्ताङ पुनर्वास गराउनका लागि क्रियाशील समूहका संयोजक सञ्जयबहादुर तामाङले बताएका छन् ।

पहिरोको कारण बस्ती नै सङ्कटमा

नुवाकोटको बागेश्वरी गाविसको एक गाउँ नै लगातारको वर्षाको कारण पहिराको खतरामा परेको छ ।

बागेश्वरी–६ कटुञ्जे गाउँका १९ घर परिवार पहिरोको कारण विस्थापित हुने अवस्थामा पुगेका छन् । गाउँका २९ मध्ये १९ घर खतरामा छन् । पहिराको कारण घर आँगन नै आफ्नो स्थानबाट भासिएकाले गाउँलेलाई कतिखेर के हुने हो भने चिन्तित बनाएको स्थानीयवासी वृद्ध दिलबहादुर अधिकारीले बताए ।

पहिरोले कटुञ्जेका भीमबहादुर अधिकारी र डिलबहादुर अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ । डम्बरबहादुर, उदयलगायत १० जनाको घरमा बढी क्षति पुगेकाले उनीहरुको परिवारका ५० जनाभन्दा बढीको सङ्ख्यामा रहेका सदस्य नजिकैको कालिका निमाविमा रात बिताउन थालेको स्थलगत अनुगमनमा गएर फर्केको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति गणेशकुमार नेपालले बताए ।

पाखो नै आफ्नो स्थानबाट सरेकाले बस्ती जतिखेर जे पनि हुन सक्ने भएकाले उनीहरुको सुरक्षाका लागि सरकारी तहबाट सहयोग गर्नु आवश्यक भएको अध्यक्ष नेपालको भनाई छ ।

स्थानीयवासीले पहिरो नियन्त्रणका लागि तत्काल २०० थान तारजाली उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>