समाचारबिहीबार, साउन १०, २०७०
पूर्वराजाले षडयन्त्र गरेको भट्टराईको आरोप
अखिल क्रान्तिकारीले १० साउनमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी नेता बाबुराम भट्टराईले विश्वमा राजतन्त्रको अन्त्य मृत्युदण्ड, निर्वासन वा युद्धमा मारिएर भएको भन्दै नेपालमा पनि पूर्वराजा ज्ञानेन्द्रको अवस्था त्यस्तै हुनसक्ने चेतावनी दिएका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने आफ्नो भनाईप्रति सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विभिन्न टिकाटिप्पणी गरेर धर्मका नाममा राजतन्त्रको जग बलियो बनाउने षडयन्त्र भएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पूर्वराजाको राजनीति गर्ने हिम्मत नभएकाले राज्यको ढुकुटीबाट लुटेको रकम धर्म र समाजसेवाको नाममा जनतालाई बाँडेर झुक्याएको आरोपसमेत लगाए ।
अर्को प्रसङ्गमा नेता भट्टराईले भर्खरै सम्पन्न भएको पार्टीको बिस्तारित बैठकमा पद प्रतिष्ठालाई तिलाञ्जली दिएर एमाओवादी उदाहारण बनेको भन्दै एक महिने चुनावी अभियानमा जनयुद्धको अवस्थामा जस्तै निर्वाचनको अभियान संचालन गर्ने बताएका थिए ।
