समाचारशुक्रबार, साउन ११, २०७०
घोषित मितिमै निर्वाचन होस: मनमोहन सिंह
भारत भ्रमणमा रहेका एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग ११ साउनमा नयाँ दिल्लीस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा संविधान सभाको निर्वाचन घोषित मितिमै हुनु पर्ने भन्दै निर्वाचनका लागि भारतको पूर्ण सहयोग रहने बताएका छन् ।
नेता नेपालसँगै रहेका एमाले विदेश विभाग सदस्य राजन भट्टराईका अनुसार भारतीय प्रधानमन्त्रीले भारत नेपालमा प्रजातन्त्रको जग बलियो भएको हेर्न चाहेको र त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत भनेका थिए । उनले निर्वाचनको विपक्षमा रहेका दलहरुलाई निर्वाचनमा सहभागी गराउन भइरहेको प्रयासका बारेमा पनि जिज्ञासा राखेका थिए ।
करिब ४० मिनेट लामो भेटवार्तामा नेता नेपालले भारतीय प्रधानमन्त्री सिंहलाई निर्वाचनको वातावरण बन्दै गएको र विपक्षी दलहरुलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन भइरहेको प्रयासका बारेमा जानकारी गराएका थिए । त्यस्तै नेता नेपालले भारतको सहयोगमा निर्माण भइरहेको हुलाकी राजमार्गलाई द्रुत गतिमा निर्माण र अन्य राष्ट्रिय योजनाहरुमा समेत सहयोग गर्न आग्रह गरेका थिए ।
यसैबीच नेता नेपालले भारतीय विश्व सम्बन्ध परिषदले आयोजना गरेको प्रवचन कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् । प्रवचनमा नेपालले ‘एक मधेश प्रदेश’ लाई पहिचानको आधार मान्न नसकिने र यस्तो अवधारणा संघीयता नभई केन्द्रीयता हुने धारणा राखेका थिए ।
————————————————————————————–
नेता नेपाल दिल्लीमा भेटघाटमा व्यस्त
भारत भ्रमणमा रहेका नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भारतका विभिन्न नेता र उच्च अधिकारीबीच ११ साउन बिहान भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेका एमाले नेता माधवकुमार नेपालको ११ साउनमा भारतका परराष्ट्र सचिव रञ्जन मथाई, नेता डिपी त्रिपाठी, लोकसभाका सदस्य साञ्जनसिंह बर्मासँग भेटवार्ता भएको छ ।
भ्रमणमा सहभागी एमालेका विदेश विभाग सदस्य राजन भट्टराईका अनुसार भारतीय परराष्ट्र सचिव मथाईसँगको भेटवार्तामा नेता नेपालले नेपाल अहिले संविधानसभाको नयाँ निर्वाचनको सम्मुखमा रहेकाले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न भारतसहितका अन्तर्राष्ट्रिय मित्रहरुको साथ र सहयोगको आवश्यक रहेको बताएका थिए ।
उनले नेपालको दोलालघाट धनकुटा सडक, पञ्चेश्वर परियोजना, मुजफ्फरपुर ढल्केवर ट्रान्समिसन लाइन निर्माण, बागमती शुद्धीकरण परियोजनालगायत पूर्वाधार विकास र विभिन्न परियोजनामा भारतीय सहयोगको अपेक्षा गरेको पनि भट्टराईले जानकारी दिए ।
नेता नेपाल र भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहबीच पनि आजै भेटवार्ता हुँदैछ । यसअघि १० साउनमा नेता नेपालले कांग्रेस आई नेतृ सोनिया गान्धीसँग भेटवार्ता गरेका थिए ।
रासस
—————————————————————————————————————-
नेता नेपाल र नेतृ गान्धीबीच भेटवार्ता
भारत भ्रमणमा रहेका नेकपा (एमाले) बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय कांग्रेस(आई)की अध्यक्ष सोनिया गान्धीबीच भेटवार्ता भएको छ ।
बिहीबार , १० साउन २०७० ७:५४ पम
१० साउन अपरान्ह ४ बजे भएको भेटमा पूर्व प्रधानमन्त्रीले नेपालले आमन्त्रणका लागि भारतीय प्रधानमन्त्री तथा भारत सरकारलाई धन्यवाद दिएका थिए । नेता नेपालले ऐतिहासिक जनआन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्नका लागि आगामी ४ मंसिरमा संविधानसभाको निर्वाचन हुन लागेको बताए ।
नेतृ गान्धीले आफ्नो पार्टी नेपालमा लोकतान्त्रिक शक्तिहरूबीच एकता हुनुपर्ने पक्षमा रहेको धारणा राखेकी थिइन । भेटमा एमाले महासचिव ईश्वर पोखरेल र भारतीय कांग्रेस (आई) का विदेश विभाग प्रमुख करण सिंह पनि उपस्थित थिए ।
यसैबीच नेता नेपाल र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहबीच ११ साउनमा भेटघाट हुने कार्यक्रम छ ।

