थप समाचारशुक्रबार, साउन ११, २०७०

हलोक्रान्तिका अभियन्ता भन्छन्– उद्देश्य पुरा भएन

हिमालखबर

बायाँबाट क्रमश: हलो क्रान्तिका अगुवा तोयानाथ अधिकारी, मायानाथ पौडेल र श्रीकान्त अधिकारी ।

जातीय भेदभाव र हलिप्रथा हटाउन ब्राह्मणहरुले पहिलो पटक हलो जोतेको दिनको सम्झनामा आज ११ साउनमा लमजुङ्मा ६४ औं हलोक्रान्ति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हलो जोतेको अभियोगमा त्यसबेलाको सरकारले उनीहरुलाई जेल हालेको थियो । हलो जोतेर ‘जात फालेको’ भन्दै उनीहरु गाउँबाट निकाला समेत भएका थिए ।

पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेललगायत २७ जना ब्राह्मणहरुले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।

जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि उती बेला दुराडाँडामा हलो क्रान्ति भए पनि अँझैसम्म छुवाछुत प्रथा नहट्दा २००६ साल देखिको अभियान पुरा नभएको पौडेल बताउँछन् । “त्यस वेला हलो जोत्नेको भात पानी चलेन, माइत आएका छोरी चेली घर जान पाएनन्, घर गएकी छोरी माइत आएनन, उमेर पुगेका छोरा छोरीको विवाह रोकियो, जोतेको हेर्नेको समेत भात चलेन” पौडेलले भने, ” तर अहिलेसम्म पनि जातीय विभेद पूरै नहटदा अभियानको उद्देश्य पुरा भएको छैन ।”

लमजुङको दुराडाँडाका ब्राह्मण समूहले हलो जोतेपछि पुस महिनामा तनहुँ जिल्लामा, २००७ साल बैशाखमा अर्घाखाँची र गोरखामा र २००८ सालमा स्याङ्जामा पनि हलो जोत्ने अभियान चलेको थियो । त्यस पछि जताततै ब्राह्मणहरुले हलो जोत्न थालेका थिए ।

दुराडाँडाका ८६ वर्षीय मायानाथ पौडेलका अनुसार चर्को जातीय भेदभाव भएको त्यो समयमा हलो जोत्नेलाई दलितको श्रेणीमा राखिन्थ्यो । पौडेलले स्मरण गर्दे अगाडी भने “त्यसपछि सरकारका तालुकदारहरुले विरोध गरेको ठानेर बडाहाकिमलाई गिराफ्तार गर्न उक्साएका थिए ।”
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>