समाचारशुक्रबार, साउन ११, २०७०
पूर्वराजपरिवारका सदस्यले राहत वितरण गरेनन्

राहत सामाग्री वितरण गर्न नपाएपछि निराश देखिएका पूर्वराजा र पूर्वराजपरिवारका सदस्यहरु । तस्वीरः बच्चु विक
सुदुरपश्चिमका बाढी पीडितहरुलाई राहत सामाग्री र नगद वितरण गर्न पुगेका पूर्वराजपरिवारका सदस्यहरुले यसअघि दार्चुलामा राहत सामाग्री वितरण गरे पनि ११ साउनमा कैलालीका बाढीपीडितलाई राहत वितरण गरेनन् । उनीहरुले राहत सामग्री जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।
हिमानी ट्रस्टको आयोजनामा राहत वितरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी शाह लगायतका पूर्वराजपरिवारका सदस्यहरु टीकापुर पुगेका थिए । उनीहरुलाई स्थानीय प्रशासनले सिधै राहत विरतण नगर्न दवाव दिएपछि राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाहले राहत सामग्री कैलाली जिल्ला प्रशासन कार्यालयका प्रशासनकीय अधिकृत चिरिञ्जीवि घिमिरे र नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति उत्तम जोशीलाई हस्तान्तरण गरेकी छन् ।
राहत वितरण गर्न नपाएकोमा पूर्व राजपरिवारका सदस्यहरु खिन्न देखिन्थे “विपत्ति, आपत्ति, दुःख परेका बेला केही न केही मद्दत हुन्छ की भनेर आएका हौं,” पूर्वराजा शाहले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै भने, “प्रशासनले यस्तो किन गर्यो ? नियम सबैलाई लाग्छ । ’’
टीकापुर क्षेत्रका बाढीपीडित ५७२ परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको हिमानी ट्रस्टले जनाएको छ । प्रत्येक परिवारलाई १५ किलोग्राम चामल, लत्ताकपडा, भाडाकुडा वितरण गर्ने कार्यक्रम भए अनुसार राहत लिन बाढीपीडितहरु पनि ठूलो संख्यामा आएका थिए ।
राहत नपाएपछि पीडितहरुले पूर्वराजपरिवारका पक्षमा नाराबाजी समेत गरेका थिए ।
बच्चु विक, धनगढी

