समाचारशुक्रबार, साउन ११, २०७०
प्रेमीलाई खुकुरी प्रहार गरी आत्महत्या
१० साउन दिउँसो दुलेगौडा गाविस २ की १९ वर्षीया रुपा मगरले स्याङजा विचारीचौतारा ५ का २० वर्षीय त्रिलोचन शर्मालाई पोखराको ड्यामसाईडस्थित अशोक गेष्टहाउसको कोठामा खुकुरी प्रहार गरेपछि पंखामा सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन् ।
खुकुरी प्रहारबाट घाइते बनेका शर्माको मणिपाल शिक्षण अस्पतालको सघन उपचारकक्ष उपचार भइरहेको प्रहरीले जनाएको छ । शर्माको टाउकोमा गहिरो चोट लागेको छ ।
घाइते अवस्थाका शर्माले प्रहरीलाई बताएको विवरण अनुसार मगर र शर्माको २० दिनअघि सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर मोवाइल नम्बर आदान प्रदान भएको थियो । मोवाइलमा कुराकानी हुनथालेपछि शर्मालाई भेट्न ११ साउनमा रुपा दुलेगौंडाबाट पोखरा आएकी थिइन ।
शर्माका अनुसार पोखराको पृथ्वीचोकमा भेटेर ड्यामसाईडस्थित अशोक गेष्टहाउस पुगेका उनीहरु केही बेर बाहिर बसेपछि ‘यहाँ सबैले देख्छन’ भनेर कोठामा छिरेका थिए । कोठामा पुगेपछि रुपाले ‘तिमीले नसोचेको उपहार ल्याएकी छु, आँखा चिम्ल त’ भनेर, आँखामा रुमाल बाँधी खुकुरीले टाउकोमा प्रहार गरेकी थिइन् ।
प्रहरीका अनुसार रगताम्यहुदै ढोकाको चुक्कुल खोलेर शर्माले होटलको रिसेप्सनमा जानकारी गराएपछि उनलाई फेवासिटीमा प्राथमिक उपाचार गरी थप उपचारको लागि मणिपाल लगिएको थियो ।
घटनापछि कोठामा हेर्न जाँदा रुपा ढोकामा भित्रबाट चुक्कुल लगाएर पंखामा सलको पासो लगाएर भुण्डिएको अवस्थामा फेला परेकी थिइन् । कोठाबाट प्रहरीले खुकुरी पनि वरामद गरेको छ ।
पोखराको जनप्रिय क्याम्पसमा स्नातक तहमा अध्ययनरत शर्माले पहिलो भेटमा नै रुपाले आफूमाथि खुकुरी हानेको बताएपनि, प्रहरीले भने उनीहरुबीच यसअघि पनि भेटघाट भएको अनुमान गरेको छ । प्रहरीले २० दिनकै चिनजानले यस्तो घटना हुन नसक्ने भन्दै घटनाको बारेमा अनुसन्धान थालेको छ ।
“पहिलो भेटमा नै एक्कासी खुकुरी प्रहार गर्नुपर्ने कारण के पर्छ र ?” एक प्रहरी अधिकृतले भने, “पहिले नै भेटघाट भएको र भेटघाट जारी रहेपनि केही कुरामा खटपट भएको हुनसक्छ ।”
प्रहरीले अशोक गेष्ट हाउसका संचालक धर्मराज तिवारीलाई पनि नियन्त्रणमा लिएको छ । गेष्ट हाउसका संचालक तिवारीले दुई महिना अघि पनि शर्मा होटलमा आएको प्रहरीलाई बताएका छन् । उनले त्यसबेला शर्मासँग आएकी युवती रुपा नै थिइन् वा अरु कोही थियो भन्ने ठम्याउन नसकेको बताएका छन् ।
रुपाको शवलाई पोष्टमार्टम गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
माधव बराल, पोखरा
