थप समाचारशुक्रबार, साउन ११, २०७०
तीन प्रहरी निलम्बनमा
११ साउन विहान साढे सात बजेतिर कास्की कारागारबाट कैदी भागेपछि कास्की प्रहरीले ड्यूटीमा रहेका तीन जना प्रहरीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी हवल्दार मानबहादुर सलामी, जवान सन्तोष राई र खड्कबहादुर साही छन् ।
कारागारका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक नरहरी अधिकारीलाई निलम्बनको लागि क्षेत्रीय प्रहरी कार्यालय पोखरामार्फत केन्द्रमा सिफारिस गरिएको छ । घटनाको बारेमा छानविन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यमा प्रहरी निरीक्षक विनीमहादेव पौडेल र प्रहरी नायव निरीक्षक राम अधिकारी छन् ।
कारागारका कोठामा सरसफाई गरेपछि फोहोर फाल्ने क्रममा कारागारको कम्पाउण्डको काडेतारको सुरक्षा घेरालाई नाघेर उनी भागेको प्रहरीले बताएको छ । समाचार स्रोतको अनुसार तमाङ भागेको करिव १५ मिनेटपछि मात्र प्रहरीले थाहा पाएको थियो ।
कास्कीको सैमराङ गाविस घर भई पोखरा फुलबारी बस्दै आएका तामाङले कक्षा ६ मा पढ्ने एक बालिकालाई बलात्कार गरेको अभियोगमा जेल परेका थिए । २०६७ सालमा बालिकालाई बलात्कार गरेर फरार रहेका तामाङलाई गत कार्तिकमा पक्राउ गरिएको थियो ।
पक्राउ परेका तामाङलाई अदालतले गत मंसीरमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । फरार कैदीको खोजी कार्यलाई तिव्र पारिएको प्रहरीले बताएको छ ।
माधव बराल, पोखरा
