समाचारशनिबार, साउन १२, २०७०

इजिप्टः झडपमा सयबढीको मृत्यु

हिमालखबर

राजधानी कायरोमा अहिले पनि मोर्सी समर्थक र विरोधिहरुबीच झडप भइरहेको र झडपमा सय बढीको मृत्यु हुनुका साथै एक हजार भन्दा बढी घाइते भएको त्यहाँको अस्थायी अस्पतालका चिकित्सकले बताएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

दुबै पक्षहरु प्रदर्शनमा उत्रिएको भए पनि हिंसा दुई पक्षबीचको झडपमा भएको हो वा सुरक्षा निकायले सडकमा हस्तक्षेप गर्दा भएको हो भन्ने अझै पुष्टि भइसकेको छैन ।

रातभर नै दुबै पक्षले देशका विभिन्न भागमा प्रदर्शन गरेको र अहिले पनि प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ । त्यहाँको सेनाको समर्थनमा हजारौं प्रदर्शनकारीले राजधानी कायरोस्थित तहरिर स्क्वायरमा कब्जा जमाएका छन् ।

सडकमा स्वचालित बन्दुकको आवाज सुनिएको र अस्पतालमा ल्याइएका अधिकांश घाइतेहरुलाई गोली लागेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । अस्पतालमा ल्याइएको एक हजार भन्दा बढी घाइतेहरुको टाउको र छातिमा गोली लागेको भन्दै चिकित्सकहरुले मृत्यु हुनेहरुको संख्या धेरै बढ्न सक्ने बताएका छन् ।

“गए रातिदेखि भएको भिडन्त बिहानसम्म पनि जारी छ । हावामा अश्रु ग्याँस भरिएको छ भने मान्छेहरुले वान्ता गरिरहेका छन् । अहिले पनि स्वचालित बन्दुक पड्केको आवाज आइरहेको छ,” बीबीसीले उल्लेख गरेको छ ।

अस्पतालमा घाइतेहरुको अत्यधिक चापले गर्दा ढोका बन्द गर्नुपर्ने अवस्था छ तर, एम्बुलेन्सहरुले घाइले ओसार्न छोडेका छैनन् ।

मोर्सी समर्थकहरुले मुख्य सडक बन्द गराउने प्रयास गरेपछि झडप भएको बताइएको छ । सरकार नियन्त्रित समाचार एजेन्सीले सुरक्षाकर्मीहरुले गोली प्रहार नगरी अश्रु ग्याँसमात्रै प्रहार गरेको जनाएको छ । मोर्सी समर्थित मुस्लिम ब्रदरहुडका प्रवक्ताले भने सुरक्षाकर्मीहरुले ताकेरै प्रदर्शनकारीहरुको टाउकोमा गोली प्रहार गरेको दाबी गरेका छन् ।

इजिप्टमा लोकतान्त्रिक तरिकाले निर्वाचित पहिलो राष्ट्रपति मोहम्मद मोर्सीलाई ३ जुलाईमा सत्ताबाट हटाइएको थियो । मोर्सी विरुद्ध भएको प्रदर्शनमा पनि दर्जनौंको ज्यान गएको थियो ।

मोर्सीमाथि प्यालेस्टिनियन संगठन हमाससँग मिलेर षडयन्त्र गरेको आरोप लगाइएको छ । त्यसैगरी सन् २०११ मा कारागारमा आक्रमणको षडयन्त्र गरेको पनि उनीमाथि आरोप लगाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>