समाचारआइतबार, साउन १३, २०७०
निर्वाचन विरोधीलाई आक्रमण गर्न दाहालको निर्देशन
काभ्रेको बनेपामा १२ साउनमा वाइसिएलको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन विथोल्न खोज्नेहरुलाई आक्रमण गरी लखेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेकपा–माओवादी प्रति लक्षित गर्दै दाहालले भने, “संविधानसभा विरुद्ध गतिविधि गर्नु भनेको छट्टु स्याल गाउँ पस्या हो, त्यसकारण हाम्रा जनताका कुखुरा बचाउनका निम्ति ती छट्टु स्यालमाथि आक्रमण गर्नुस्, मेरो यही निर्देशन हुन्छ तपाइँहरुलाई । ”
दाहालले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले मतपेटिका फुटाएर शहीदको सपनामा बञ्चरो हानेको आरोप लगाए । उनले नेकपा-माओवादीलाई वार्तामा आउन दुइ पटक औपचारिक पत्र पठाइएको भन्दै सबै दलहरुको सहभागितामा गोलमेच सम्मेलन गराउनसमेत आफू तयार रहेको पनि बताए ।
नेकपा-माओवादीले संविधानसभाको चुनाव ‘सकृय र सशक्त’ बहिष्कार गर्ने घोषणा गरेको छ। नेकपा–माओवादीले निर्वाचन विथोल्ने भन्दै वार्तामा नआएपछि पछिल्लो समयमा एमाओवादी, नेपाली कांग्रेस र एमालेका नेताहरुले उसप्रति आक्रोश ब्यक्त गर्न थालेका छन् ।
१२ साउनमै एमाले नेता झलनाथ खनालले नेकपा–माओवादीलाई निर्वाचनबाट भागेर प्रतिगमनकारीको उभ्भिन थालेको बताएका थिए भने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कसैले विरोध गर्दैमा निर्वाचन नरोकिने बताएका थिए ।
