समाचारआइतबार, साउन १३, २०७०

मिर्गौला प्रत्यारोपणपछि पनि खेलकुदमा सक्रिय

हिमालखबर

गीता श्रेष्ठ । तस्बीर: विक्रम राई

दक्षिण अफ्रिकाको डर्वानमा हुने १९ औं विश्व प्रत्यारोपण खेलकुद प्रतियोगिता (१४–२० साउन) मा नेपालको तर्फबाट गीता श्रेष्ठ (२७) सहभागी हुँदैछिन् । उनी चौथो राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगितामा महिलातर्फको १००, २०० र ४०० मीटर दौडकी उत्कृष्ट अनि विश्व प्रत्यारोपण प्रतियोगितामा भाग लिने तेस्रो नेपाली खेलाडी हुन् । सन् २०११ मा स्वीडेनमा आयोजित १७ औं विश्व प्रत्यारोपण प्रतियोगितामा सिन्धुलीका पशुपति कुँवर र २०१२ मा स्वीट्जरल्याण्डमा भएको १८ औं खेलकुदमा काभ्रेका रोमियो श्रेष्ठले सहभागिता जनाएका थिए । गीता खोटाङकी हुन् ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनलाई बुबाले एउटा मिर्गौला दिएर बचाएका हुन् । चैत २०६३ मा चण्डीगढको पीजी आई अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्दा श्रेष्ठ परिवारले रु.१२ लाख खर्चेका थिए । श्रीमान्सँग काठमाडौंमा बस्ने गीता अहिले सामान्य व्यक्तिले जस्तै नियमित काम गर्छिन् । ११ साउनमा उनले भनिन्, “दुवै मिर्गौला बिग्रँदा संसार अँध्यारो भए जस्तो लागेको थियो, तर परिवारको माया, हिम्मत र मिहिनेतबाट देशको प्रतिनिधित्व गर्न सक्षम भएकी छु ।”

आरोग्य प्रतिष्ठानका महासचिव डा. पुकारचन्द्र श्रेष्ठ मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले गीताले जस्तो सक्रिय जीवनयापन गर्न सक्ने बताउँछन् । अंग प्रत्यारोपण गरिएको व्यक्तिको दैनिक जीवन असक्त हुँदैन भन्ने चेतनाको मात्र कमी रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुदको नेपाल प्रतिनिधि रहेका डा. श्रेष्ठकै पहलमा नेपालमा पनि प्रत्यारोपितहरूका लागि २०६७ देखि खेलकुद सञ्चालन गर्न थालिएको हो ।
मीना शर्मा

हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>