समाचारआइतबार, साउन १३, २०७०
विचार पुर्याएर बोल्न दाहाललाई केन्द्रीय सदस्यको आग्रह
१३ साउन बिहान पाल्पाको तानसेनमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वसभासद एवम एमाओवादी केन्द्रीय सदस्य जोगबहादुर महराले केन्द्रका नेताहरुले अन्य दलहरुबारे जथाभावी बोल्दा सहमति र समझदारीमा अप्ठ्यारो पर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाललाई विचार पुर्याएर बोल्न आग्रह गरेका छन् ।
१२ साउनमा बनेपामा भएको वाईसिएलको कार्यक्रममा अध्यक्ष दाहालले नेकपा–माओवादी निर्वाचन विथोल्न आए उनीहरुमाथि आक्रमण गरी लखेट्ने आशयको निर्देशन कार्यकर्ताहरुलाई दिएका थिए ।
निर्वाचनको वातावरण बनाउन भन्दै पाल्पा आएका महराले अध्यक्ष दाहालको अभिव्यक्तिले स्थानीय तहका नेता कार्यकर्ताहरुलाई अप्ठ्यारो पर्ने भन्दै सम्हालिएर बोल्न आग्रह गरेका हुन् ।
उनले बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिनु गल्ती भएको भन्दै थपे, “ पार्टीलाई एक भएर अघि बढाउने बेलामा पदै छोडेर बाहिर बस्दा कार्यकर्तामा नकारात्मक असर परेको छ ।”
अहिलेको संकट हटाउन निर्वाचन बाहेक कुनै पनि बिकल्प नभएको भन्दै महराले संघीयता र पहिचान पक्षधरहरु संगठित भएर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए ।
देब पचभैया, पाल्पा
