समाचारमंगलबार, साउन १५, २०७०
तातोपानी नाका खुल्यो
सरकारी अधिकारीसँग भएको वार्ता सकारात्मक भएपछि सिन्धुपाल्चोकको तातोपानी नाकामा गरिएको आयात–निर्यात ब्यापार रोक्का खुल्ला गरिएको आन्दोलनको नेतृत्व गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाइ समितिले जनाएको छ ।
हात्तीको दाह्रासहित पक्राउ परेका चिनियाँ नागरिकलाई कारबाही नगरी कन्टेनर चालकलाई पक्राउ गरी मुद्दा चलाएको विरोधमा मजदुरहरुले गत हप्तादेखि नाकाबाट हुने आयात–निर्यात ब्यापार ठप्प पारेका थिए । मजदुरहरुको आन्दोलनका कारण तातोपानी भन्सार कार्यालयले ९ करोड भन्दा बढी राजस्व घाटा ब्यहोरेको छ ।
नाका खुलेपछि चिनियाँ सामान लिएर नेपाल भित्र्न भन्सार जाँचपासका लागि पालो कुरेर बसेका मालबाहक कन्टेनर भ्यानहरु नेपाल भित्रिएका छन् ।
हात्तीको दाह्रासहित पक्राउ परेका चिनियाँ नागरिकलाई छाडेर चालक सुरजकुमार श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाएको विरोधमा मजदुरहरु आन्दोलित भएका थिए । राष्ट्रिय निकुञ्ज ऐनअन्तर्गत मुद्दा चलाइएका श्रेष्ठ अहिले पुर्पक्षमा दोलखा कारागारमा थुनामा रहेका छन् ।
चीनको बेइजीङ टाइम प्रोडक्सन कम्पनीले निर्माण गर्न लागेको अप इन द वाइन्ड नामक चलचित्रको सुटिङ सकेर फर्कने क्रममा गत बैशाख २० गते ना ३ ख ७४५६ नम्बरको कन्टेनरमा हात्तीको दाह्रा बरामद भएको थियो ।
