समाचारबुधबार, साउन १६, २०७०
प्रजिअलाई धम्की दिने पक्राउ
प्रमुख जिल्ला अधिकारी, जेलर र जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखा प्रमुखलाई फोन गरेर धम्की दिदै आएका धनुषा लालगढ–८ घर भई इटहरी बगैंचा टोल बस्ने उमेश पोखरेल १६ साउन बिहान ५ बजे प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।
आफूलाई गृह सचिवको निजी सचिव भएको बताउँदै केही दिनदेखि उनीहरुको मोबाइलमा फोन गरेर पोखरेलले हातहतियार मुद्दाका एक महिला आरोपीलाई छोड्न धम्की दिंदै आएको प्रहरीले जनाएको छ । पोखरेलले ती कैदीलाई नछाडे ज्यान लिनेसम्मको धम्की दिदै आएको प्रहरीको भनाई छ ।
सादा पोशाकमा गएका प्रहरीले इटहरीमा पक्राउ गरी पोखरेललाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएका छन् । पोखरेलले एनसेल र एनटीसी मोबाइलबाट उनीहरुलाई फोन गरी पटक पटक धम्की दिदै आएको मोरङका प्रहरी नायव उपरीक्षक दिपक पोखरेलले बताए ।
आफू पनि भर्खरै जेलबाट छुटेका पोखरेलले केही कैदीबन्दीलाई आफूले सहयोग गरेको भन्दै उनीहरुका परिवारबाट फाइदा समेत उठाएको कैदीहरुलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
कमल रिमाल, विराटनगर
