समाचारबुधबार, साउन १६, २०७०

चितवन बन्द फिर्ता (अपडेट)

हिमालखबर

चन्दा माग्दै गरेका कार्यकर्ता पक्राउ भएको विरोधमा १६ साउन विहान १० बजेदेखि चितवन बन्दको आह्वान गरेको वाइसिएलले मध्यान्ह १२ बजेपछि  बन्द फिर्ता लिएको छ ।

एक्कासी बन्द गर्दा सर्वसाधारणलाई मर्का परेको भन्दै बन्द फिर्ता लिइएको वाइसिएल चितवनका संयोजक इश्वर सापकोटाले बताए ।  बन्द फिर्ता भएपछि चितवनको जनजीवन सामान्य बन्दै छ भने राजमार्गमा रोकिएका सवारी साधन पनि गन्तब्य तर्फ लागेका छन् ।

१५ साउन साँझ नारायणगढ बजारमा ब्यापारीसँग चन्दा लिंदै गरेका वाइसीएल कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

हाललाई बन्द फिर्ता भए पनि आफ्ना कार्यकर्ता रिहा नभएसम्म आन्दोलन जारी रहने वाइसीएल चितवनले जनाएको छ ।

—————————————————————————————————–

वाईसीएलद्वारा चितवन बन्द

कार्यकर्ता पक्राउको विरोधमा एमाओवादीको भ्रातृसंगठन वाईसीएल चितवनले १६ साउन विहान १० बजेबाट चितवन बन्द गराएको छ ।

हिमालखबर

बुधबार , १६ साउन २०७० ११:५१ एम

चन्दा मागेको आरोपमा समातिएका कार्यकर्ता छुटाउन वाईसीएलले १६ साउनमा चितवन बन्द गराएको छ । अहिले चितवनको नारायणगढ क्षेत्रमा यातायात, पसल सबै ठप्प छन् भने पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरु अलपत्र परेका छन् ।

स्थानीय ब्यापारीसँग चन्दा माग्दै गर्दा १५ साउनमा वडा प्रहरी कार्यालय नारायणगढले वाइसीएलका ६ जना कार्यकर्ताहरु– उत्तम गुरुङ, भरत मगर, विशाल मरहठ्ठा, मधुराज न्यौपाने, मनोजकुमार शेर्पा र रवि पराजुलीलाई पक्राउ गरेको थियो ।

चन्दा माग्दै गर्दा चार जनालाई र पछि वडा प्रहरी कार्यालयमा आक्रमण गर्ने दुई जनालाई समेत गरी ६ जनालई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिए ।

१५ साउन सांझ वाईसीएल कार्यकर्ताले आफ्ना साथीहरु पक्राउ गरेको भन्दै वडा प्रहरी कार्यालयका प्रहरी माथि हातपात गरेका थिए । उनीहरुको आक्रमणबाट प्रहरी जवान मनोज चौहान र प्रहरी सहायक निरीक्षक हेमन्तकुमार सिंह घाईते भएको प्रहरीले जनाएको छ ।

वाईसीएल चितवनका संयोजक ईश्वर सापकोटाले १९ साउनमा हुन लागेको जिल्ला सम्मेलनको लागि सहयोग मागेको पत्र फिर्ता माग्न जाँदा कार्यकर्ता पक्राउ परेको बताए । निर्वाचन आचारसंहिता बन्नुअघि नै आफूहरुले सहयोगको लागि पत्र पठाएको उनले दावी गरे ।

जवरजस्ती चन्दा असुली गर्नु निर्वाचन आचारसंहिता विपरित भएकोले पक्राउ परेकालाई कानून अनुसार कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताएका छन् ।
सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>