थप समाचारबुधबार, साउन १६, २०७०
चितवनमा भाइरल ज्वरोका बिरामी बढे
चितवनमा भाइरल ज्वरोका विरामीको संख्या बढेपछि अस्पतालमा बेड अपुग हुँदा भुइँमा राखेर उपचार गर्नु परेको छ । गएको महिनामा भन्दा करिब ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले जानकारी दिए ।
अस्पतालको मेडिकल वार्डमा रहेका ५१ शय्यामध्ये करिब ३० शय्यामा भाइरल ज्वरोका बिरामी रहेको अस्पतालकी स्टाफ नर्स बिनिता सुवेदीले बताइन् ।
अहिले अस्पतालका भुईं बिरामीले भरिएका छन् । शुरुमा ज्वरो आउने, रुघा लाग्ने, छाती दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने र बान्ता आउने लक्षण बिरामीमा देखिएको छ ।
चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा पनि बिरामीको चाप अत्यधिक भएको अस्पतालले जनाएको छ ।
असारको अन्तिम सातादेखि बिरामी बढ्न थालेको र अहिले पनि उत्तिकै चाप रहेको चिकित्सक अधिकारी बताउँछन् ।

