थप समाचारबिहीबार, साउन १७, २०७०
राष्ट्रपतिद्वारा नेताहरुसँग छलफल तीव्र
राष्ट्रपति यादवले निर्वाचनको विरोध गरिरहेका दलहरुलाई वार्तामा ल्याउन प्रमुख दल र सरकारबाट भएका प्रयासका बारेमा नेताहरुस“ग जानकारी लिंदै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नका लागि दलका नेताहरुसँग आग्रह गरेका छन् ।
उनले १७ साउनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नै कार्यालयमा बेग्ला बेग्लै बोलाएर निर्वाचनको विरोध गरिरहेका दलहरुसँगको वार्ता प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका हुन् ।
नेताहरुस“गको भेटमा राष्ट्रपति यादवले पूर्व घोषित मितिमै निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्रबाट असंतुष्ट दलहरुस“ग छलफलका लागि भएका प्रयासहरुका बारेमा राष्ट्रपति यादवलाई जानकारी गराएका थिए ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले वार्ता प्रक्रियाका बारेमा राष्ट्रपतिलाई बताएको जानकारी दिए ।
त्यसैगरी अध्यक्ष दाहाल बाहिरिए लगत्तै राष्ट्रपति निवास पुगेका एमाले वरिष्ठ नेता नेपालले असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागी गराउन आफूले सक्दो पहल गरिरहेको जानकारी गराएका थिए ।
भारत भ्रमणपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका नेता नेपालले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउँदै भारतले पनि तोकिएको समयमै निर्वाचन होस भन्ने चाहन व्यक्त गरेको बताएका थिए ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले निर्वाचनको वातावरण बनिरहेका बेलामा क्षेत्र निर्धाणलगायतका विषयमा विवाद गर्न नहुने बताए । उनले २ सय ४० वटा मात्रै निर्वाचन क्षेत्र बनाउनुपर्ने स्पष्ट पारे ।
“अहिलेको अवस्थामा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गदै जाने हो भने मुलुकमा झन समस्या थपिन्छ,” नेपालले भने ।
निर्वाचनको पक्ष र विपक्षमा रहेका दलहरुबीच असमझदारी बढीरहेका बेलामा राष्ट्रपति यादवले दलहरुसँगको भेटलाई तीव्र पारेका हुन् ।
यसअघि १६ साउनमा राष्ट्रपति यादवले मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर सरकारले दलहरुसँग छलफलका लागि गरेका प्रयासका बारेमा जानकारी लिएका थिए ।
यसैबीच एमाओवादी अध्यक्ष दाहालले आजै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीस“ग आन्दोलनरत दलहरुस“ग गर्ने वार्ताका विषयमा छलफल गरेका थिए ।
