थप समाचारशुक्रबार, साउन १८, २०७०
जेलमा बन्द गरेर विर्संदा
अदालत बाहिर भएको सम्झौतामा अमेरिकी सरकारले पीडित छात्रलाई ४.१ मिलियन अमेरिकी डलर (करिब साढे ३९ करोड रुपैयाँ) दिने भएको छ ।
लागु औषध तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीले अप्रेल २०१२ मा ती छात्रलाई पक्राउ गरेको थियो । लस एञ्जलस टाइम्सका अनुसार अमेरिकाको सान डियागोमा इञ्निएरिंग पढने २५ वर्षीय छात्र डेनियल चोंगलाई लागु औषध सेवन गरेको आरोपमा प्रहरीले जेलमा थुन्यो तर, उनलाई जेलको कोठामा बन्द गरेपछि विर्सियो पनि ।
५ दिनसम्म चोंग केही नखाई साँगुरो कोठामा थुनिए । उनको अवस्था निकै विग्रियो । अत्यधिक तिर्खा लागेपछि उनले आफ्नै पिशाब समेत पिउनु प¥यो । कोठाभित्रबाट जति चिच्याए पनि सुन्ने कोही थिएन ।
सम्झौता भएपछि गत मंगलबार चोंगका वकिलले भने, “प्रहरीले उनलाई गिरफ्तार गरेर लैजाँदा कुनै आरोप नलगाउने बताएको थियो । प्रहरी एक मिनेटमा फर्कने भनेर चोंगलाई बन्द गरेर गए, तर फर्केनन् । उनी ५ दिनसम्म सानो कोठामा बन्द भए जहाँ झ्याल समेत थिएन ।
भोकै प्यासै चोंगले कसैगरी हथकडी फुकाल्न सफल भए तर, कोठाबाट बाहिर निक्लने कुनै उपाय थिएन । उसले कराएको कसैले सुनेन ।
मृत्यको डरले चोंग निकै भयभित भए । उनले आफ्नो चश्मा फोडेर सिसाले हातमा ‘सरी मम’ भन्ने सन्देश लेखे ।
कानून विभागले घटनाको जाँचको आदेश दिएको छ । विभागका प्रवक्ता एलिसन प्राइसले ४.१ मिलियन डलरको सम्झौता भएको पुष्टि गरे, तर यो भन्दा धेरै बताउन चाहेनन् ।
यो सम्झौता हुनुभन्दा पहिले चोंग रिहा भएपछि विभागले सार्वजनिक रुपमा क्षमा मागेको थियो ।
चोंगका अनुसार पाँचौ दिन उनले कोठा बाहिर केही ब्यक्तिको आवाज सुने र सहयोगका लागि चिच्याए । आफ्नो जुत्ताको तुना ढोका बाहिर निकालेर ढोका ढकढकाउन थाले । त्यसपछि मात्रै उनी भित्र थुनिएको प्रहरीलाई थाहा भयो र उद्दार गरियो ।
जेलबाट निस्कंदा चोंग गम्भीर अवस्थामा थिए । उनलाई तुरुन्तै अस्पताल भर्ना गराइयो । अस्पतालका अनुसार उनलाई डिहाइड्रेसन थियो र मिर्गौलामा समेत खराबी थियो । उनको तौल ७ किलो घटेको थियो ।
सम्झौतापछि चोंगले भने, “त्यो एउटा निकै भयावह घटना थियो, म त्यसालाई सदाका लागि विर्सन चाहन्छु ।” चोंगले आफूले क्षतिपूर्ति स्वरुप पाएको रकमले बाबु–आमाका लागि घर किन्ने बताएका छन् ।

