समाचारशुक्रबार, साउन १८, २०७०
उच्चस्तरीय समितिले दलहरुसँग बेग्लाबेग्लै वार्ता गर्ने
उच्च स्तरीय राजनीतिक समितिको १८ साउनको बैठकले चुनावलाई सकारात्मक रुपले हेर्ने दलले उठाएका मागलाई उदारताका साथ सम्बोधन गरेर निर्वाचनमा सहभागी गराउनका लागि भन्दै दलहरुसँग बेग्ला बेग्लै वार्ता गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्न समितिभित्रको एकतालाई अझ सुदृढ तुल्याएर अरू दलसँग समेत थप वार्ता र सम्वाद गरी सहमतिमा ल्याइने बैठकले निष्कर्ष निकालेको बताए ।
बैठकले निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक तर्फको सिट संख्या थप्ने वा नथप्ने भन्ने पनि दलहरुसँगको वार्तापछि नै टुंगोमा पुग्ने निर्णय गरेको छ ।
“निर्वाचन क्षेत्र निर्धारण तथा निर्वाचनसहितकै कतिपय विषयमा अहिलेसम्म आफ्ना फरक चासो र माग राखिरहेका दलका मागलाई सम्बोधन गरेर जानुपर्छ भन्नेमा समितिमा रहेका दलबीच मतैक्यता नै छ,” श्रेष्ठले भने । उनले थपे, “राजनीतिक दृष्टिकोणका कारण निर्वाचन र वार्तामा आएनन् भने अर्कै कुरा हो, निर्वाचन मुलुकको आजको अपरिहार्य आवश्यकता हो ।”
नेकपा एमालेका नेता रघुजी पन्तले आजको बैठकमा नेकपा–माओवादी, मधेशी जनअधिकार फोरम नेपाललगायत दलसँग समितिमा रहेका राजनीतिक दलले बेग्लाबेग्लै वार्ता गर्ने तथा निर्वाचनमा सहभागी हुने सन्दर्भमा उनीहरुले उठाएका मागलाई उदारताका साथ सम्बोधन गरेर जानुपर्छ भन्नेमा छलफल भएको बताए ।
समितिको अर्काे बैठक १९ साउनमा बस्ने बताइएको छ ।

