समाचारशुक्रबार, साउन १८, २०७०
चन्दा असुलीका आरोपी वाईसीएल कार्यकर्ता रिहा
प्रहरीले १५ साउन सांझ नारायणगढ बजारमा चन्दा उठाउँदै हिंडेका वाइसीएल कार्यकर्ता– भरत मगर, मधुराज न्यौपाने, मनोजकुमार शेर्पा र रवि पराजुलीलाई पक्राउ गरेको थियो । उनीहरु चारै जना १८ साउनमा रिहा भएका हुन् ।
अभियुक्तहरुलाई चन्दा ऐन अन्र्तगत मुद्दा दायर गरेर १८ साउनमा अदालत पेश गरिएको थियो । चितवन जिल्ला अदालतले उनीहरुलाई जनही पाँच सय रुपैयाँ धरौटी लिएर रिहा गरेको छ ।
त्यसैगरी आफ्ना कार्यकर्ता पक्राउ परेपछि प्रहरी कार्यालय पुगेर तोडफोड र प्रहरीमाथि हातपात गरेका उत्तम गुरुङ र विशाल मरहठ्ठा भने १७ साउन साँझै रिहा भएका थिए । सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएका दुवैलाई प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले कार्यालय समयपछि जनही १ हजार रुपैयाँ धरौटीमा रिहा गरेका थिए ।
कार्यकर्ता रिहाईको लागि दबाब दिन वाईसीएल चितवनले १६ र १७ साउनमा चितवन बन्द गराएको थियो ।
मुद्दाको छिटो छिनोफानो गरी कार्यकर्ता रिहा गर्ने स्थानीय प्रशासनसँग सहमति भएपछि १७ साउनमा अनिश्चितकालिन चितवन बन्द घोषणा गरेको वाइसीएलले साँझ पाँच बजे बन्द फिर्ता लिएको थियो ।
सविता श्रेष्ठ, चितवन

